ओलीको पहिलो रोजाइमा लालबाबु

विगतमा सामान्य प्रशासन मन्त्री बन्दा गरेको कामले प्रशंसा कमाएका लालबाबु पण्डित प्रधानमन्त्री केपी ओलीको पहिलो रोजाइका मन्त्री बनेका छन  । सपथ लिने दिनसम्म पनि मन्त्री बन्छु भन्ने थाहा नपाएका पण्डितले राष्ट्रपति कार्यालयमा पुगपछि मात्र आफू मन्त्री बन्ने थाहा पाएकाे बताए ।

तर कुन मन्त्रालय भन्ने कुरा राष्ट्रपति कार्यालयका सचिवले उद्घोष गर्दा थाहा पाए । पारिवारिक स्रोतका अनुसार दिउसो सम्मपनि पण्डित मन्त्री बन्ने कुनै सुरसार थिएन् । तर ओलीले पहिलो पटक नै पण्डितलाई मन्त्री बनाए ।

लालबाबुलाई मन्त्री बनाउनुको पहिलो कारण विगतमा उनले गरेको कामको मूल्याङकन नै हो । स्व सुशील कोइराला सरकारमा सामान्य प्रशासन मन्त्री रहेका पण्डितले डिभी, पिआर लिएका कर्मचारीलाई सरकारी जागिर छाड्न बाध्य पारेका थिए । कर्मचारी संगठनहरुको चर्को दवावका बाबजुद कर्मचारीलाई या पिआर छाड्न या सरकारी जागिर छाड्नु पर्नेगरी कानून बनाउन पण्डितले ठूलो भूमिका खेलेका थिए । सामान्य प्रशासन मन्त्री बन्दा गरेको काम र राष्ट्रवादी अडानका कारण लालवावु चर्चामा रहे ।

लालबाबु पण्डितलाई मन्त्री बनाउनुको दोस्रो कारण चाहिँ, मधेशी समुदायप्रति एमालेको सम्मान हो । विगतमा कतिपय राजनीतिक दलले एमालेलाई ‘मधेश विरोधी’को आरोप लगाएका थिए । त्यो आरोप खण्डन गर्नपनि ओलीले लालबाबुलाई रोजेका हुनसक्छन् ।

विगतमा मधेश आन्दोलन चर्केको समयमा लालबाबुले एमालेले लिएको नीतिको पक्षमा डटेर बोलेका थिए । पार्टीमा माधवकुमार नेपाल समूहका भएपनि लालबाबु ओलीको पहिलो रोजाइमा परे । ओलीले मन्त्रिमण्डल विस्तारमा समावेशीतालाई पनि उत्तिकै ख्याल गरेको देखियो । तीन सदस्सीय मन्त्रिमण्डलमा महिलालाई समावेश गरेर उनले लैङ्गिक समानतालाई पनि महत्व दिए । लालबाबुलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । काठमाडौंको प्रदूषण र धुलो नियन्त्रणका लागि काम गरे भने यसपटक पनि प्रसंशा बटुल्ने छन् ।