रोमाञ्चक खेलका नायक बनेका करणले यसरी जिताए नेपाललाई

आइसिसी विश्व क्रिकेट लिग डिभिजन(२ मा नेपालले क्यानडामाथि सनसनीपूर्ण जित निकालेको छ। बुधबार नामिबियाको वन्डरर्स मैदानमा भएको खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो। क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा ९ विकेटको क्षतिमा पार गरेको हो। जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहँदै एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएको छ। नेपालले ५ खेलबाट ८ अंक जोड्दा दोस्रो बनेको यूएईले ६ अंक बटुल्यो।

नेपाललाई निर्णायक खेलमा रोमाञ्चक जित दिलाउन दशौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले नायकीय प्रदर्शन गरे। उनले अन्तिम ओभरमा ८ रन चाहिएको स्थितिमा पाँचौ बलमा छक्का प्रहार गरेका थिए। छैटौं बल वाइड हुँद रन बराबरी भएको थियो। अन्तिम बलमा करणले १ रन लिँदै नेपाललाई अविश्वसनीय जित दिलाएका हुन्।

त्यसअघि ४९ ओभरको खेल टर्निङ प्वाइन्ट बन्यो। ४९ ओभरमा करणले १ चौका र १ छक्का प्रहार गरे। सो ओभरमा नेपालले १३ रन जोडेको थियो। नेपालको जितमा हिरो साबित भएका करणले नटआउट ४२ रन जोडे। उनले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे।

नेपालको जितमा एघारौं नम्बरका ब्याट्सम्यान सन्दीप लामिछानेको पनि भूमिका महत्वपूर्ण रह्यो। उनले १८ बल खेलेर नआउट ५ रन जोडे। सन्दीप ४३ ओभरमा मैदान छिर्दा नेपाललाई जितको लागि ५१ रनको आवश्यकता थियो। तर हातमा मात्र एक विकेट बाँकी थियो। यो अवस्थामा सन्दीप र करणले नटआउट ५१ रनकै साझेदारी गरे त्यो पनि अन्तिम बलमा। जसले नेपालको भाग्य खुलेको छ। अब नेपालले आगामी महिना जिम्बाबेमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ।

त्यसअघि खराब सुरुवात गरेको नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले आसा देखाए। रोहित २७ तथा आरिफ २६ रनमा आउट भए। लगत्तै सोमपाल कामी ७ र बसन्त रेग्मी शून्य रनआउट आउट हुँदा नेपालको झिनो आसा बाँकी रहेको थियो। ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का दुवै सस्तैमा आउट हुँदा नेपाल दबाबमा परेको थियो। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका थिए। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो।

यस्तै दिलीप नाथ ४१ रन बनाएर आउट भए। उनले तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० रनको साझेदारी गरे। दिलीपले आउट हुनुअघि ६८ बल खेलेर ५ चौका प्रहार गरे। लगत्तै शरद भेषावकर १ रनको झिनो स्कोरमा आउट भए। दीपेन्द्र सिंह ऐरी पनि आउट ३८ बल खेलेर १८ रनमा आउट भए। उनले १ चौका प्रहार गरे। त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको क्यानडाले ५० ओभर ८ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो।

क्यानडाका लागि ओपनर श्रीमन्था विजयरत्नेले शतक बनाए। उनले नटआउट १ सय ३ रनको योगदान दिए। उनले १ सय ५२ बलमा ८ चौका हिर्काए। बलिङतर्फ नेपालका लागि बसन्त रेग्मीले ३ विकेट लिए। बसन्तले १० ओभरमा ३४ रन खर्चिए। यस्तै, सन्दीप लामिछाने २ विकेट हात पारे। करण केसी र शरद भेषावरले १ (१ विकेट आफ्नो नाममा लेखाए।

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा पहिलो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए। गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडिएको थियो।

यस्तै सन्दीप लामिछानेले क्यानडाका कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरे भने धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। त्यसपछि घाइते भएका सन्दीपले केही बेर मैदान छाडेका थिए। फेरि मैदान फर्किएका सन्दीपले त्यसपछि विकेट लिन सकेनन्। बसन्तले क्यानडाको चौथो विकेटको रुपमा धलिवाललाई ४ रन बनाएर खेलिरहदा विकेटकिपर दिलीप नाथबाट स्टम्पपिन गराए। करणले नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा क्यानडाका विकेटकिपर ब्याट्सम्यान हम्जा तारिकलाई २४ रनमा आउट गरे। आउट हुनुअघि उनले ३० बल खेल्दै २ छक्का प्रहार गरे। दुवै छक्का उनले सन्दीप लामिछानेको बलमा प्रहार गरेका थिए। शरदले विन जाफरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे। लगत्तै निखिल दत्ता शून्य रनमा पारस खड्काले डाइरेक्ट हिटमार्फत रनआउट गरे। बसन्तले हेलिगरलाई शून्य रनमा बोल्ड गरे।