प्रधानमन्त्रीमा दाबी पेश गर्न ओली शीतलनिवास

एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। अध्यक्ष ओलीलाई नेपालको प्रधानमन्त्रीको रूपमा अपराह्न सपथ गराउने कार्यक्रम रहेको शीतलनिवास स्रोतले जनाएको छ।

अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्न राष्ट्रपति कार्यालय जाँदै गरेको जानकारी दिए। विगतमा संसदबाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्ति गर्ने व्यवस्था गरेको छ ।

संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। दुई सय ७५ सदस्यीय संसदमा एमाले र माअोवादी केन्द्रकाे वाम गठबन्धनका पक्षमा १ सय ८४ सिट छ। सरकार गठनका लागि १ सय ३८ सिट अावश्यक पर्छ। यता मन्त्रिपरिषद् बैठक सकिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन्।