नेपालले क्यानडालाई हरायो, अब विश्वकप खेल्न पाउने

नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको अन्तिम लिग खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चँदै अन्तिम बलमा पुरा गर्यो ।

जीतसँगै नेपालले डिभिजन एकमा स्थान पक्का गर्दै वान डे विश्वकप छनोट खेल्न पाउने भएको छ ।  नेपालको जीतमा करण केसीले उत्कृष्ट प्रदर्शन गरे । उनले नटआउट ४२ रनको योगदान दिए ।  यस्तै दीलिप नाथले ४१ रनको योगदान दिए भने आरके पौडेलले २७, आरिफ शेखले २६ तथा दीपेन्द्र सिंह ऐरीले १८ रनको योगदान दिए । आजको खेलमा कप्तान पारस खड्कासहितको अन्य ब्याट्सम्यान भने चल्न सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।

क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे ।  १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । यसअघि नामिबियाविरुद्ध पहिलो खेल खेल्दा विजेयरत्नेले आठ रन मात्र बनाएका थिए । त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो  यस्तै तेस्रो खेलमा युएईलाई हराएको थियो ।