बिहेको अघिल्लो रात बेहुला बेपत्ता, ६ दिन बित्दासमेत फेला परेनन्

नवलपरासी, माघ २७ घरमा कामको चटारो थियो, बिहेका लागि सरसामान जोरजाम पारिदैं थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । गत सोमबार विवाहको लगन जुराइएको थियो । गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारको सदस्यसँग हाँसीखुशी व्यवहार गरिरहेका थिए । तर मध्यरातदेखि उनी बेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो उनको । दुवै परिवारले सबै तयारी पुरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन् ।

९ वर्षदेखि स्पेनमा बस्दै आएका थिए बालकृष्ण । गत मंसिरमा उनी घर आएका थिए । आफन्तका अनुसार उनकै राजीखुशीले विवाहको टुंगो लागेको थियो । परिवारले इलाका प्रहरी कार्यालय गैंडाकोट, रजहर र जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन् । प्रहरीले हराएदेखि नै बालकृष्णको मोबाइल ‘स्वीच अफ’ रहेको तर फेसबुक भने ‘एक्टिभ’ भएको जनाएको छ ।

फेसबुकमा अनलाइन देखिए पनि परिवारले सोधेको कुराको जवाफ आएको छैन । बिहीबार राति ११ः३९ मा उनको फेसबुकमा ‘भोलि बालकृष्णको अन्तिम दिन हो’ भन्ने स्टाटस अपडेट भएको देखेपछि परिवारजन गहिरो चिन्तामा छन् ।

त्यसको अघिल्लो दिन उनको म्यासेन्जरमा फोन गर्दा हिन्दीमा ‘बालकृष्ण नही हे’ भन्ने जवाफ आएको र त्यसपछि फोन राखिएको परिवारजनको भनाइ छ । शंकास्पद संवाद र फेसबुक स्टाटसका आधारमा उनको अपहरण भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । –कान्तिपुर दैनिकबाट