मकवानपुरका नदी दोहन गर्न किन दिइयो अनुमति ?

एलडिओले पाए मोटो रकम, सिडिओको भागमा कति ?

मकवानपुर । मकवानपुरको अधिकांश खोलाहरुको दोहन सुरु भएको छ । मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको संलग्नतामा मकवानपुरका नदीहरु दोहोन भैरेहेको हो । हालको जिल्ला समन्वय समितिले गतवर्ष मकवानपुरका विभिन्न खोलाहरुमा गरेको आईई रिपोर्टअनुसार गतवर्ष नै २ वर्षमा झिक्नुपर्ने भन्दा दोब्बर नदीजन्य कच्चा पदार्थ मकवानपुरका खोलाहरुबाट झिकिसकिएको छ । आईई रिपोर्टअनुसार हाल मकवानपुरका खोलाहरु उत्खनन् गर्न नमिल्ने भएपनि विभिन्न आयोजनाका नाममा मकवानपुरका एलडीओ मैनालीले नदी उत्खनन्को अनुमति दिएका छन् । विशेष श्रोतले दिएको जानकारी अनुसार एलडीओ मैनालीले एउटा क्रसर उद्योगबाट डेढ लाख रुपैयाँ असुली नदी उत्खनन्का लागि अनुमति दिएका हुन् । धमाधम नदी उत्खनन् गरीरहेका क्रसर उद्योगहरुलाई अनुगमनको नाममा जिल्ला अनुगमन समितिले कारवाही नगरी छाडेकोले मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको पनि यसमा संलग्नता रहेको आशंका गरिएको छ ।

 

अवैधानिक रुपमा नवीकरण नै नगरेको विभिन्न आयोजनाका नाममा क्रसर व्यवसायीहरुको समुहले क–कस्लाई कति रकम दिने भनेर विगतमा नै निर्णय गरिसकेको श्रोत बताउँछ । विगत लामो समयदेखि केन्द्रीय सरकारले नवीकरण नै नभएको आयोजनाको नाममा क्रसर उद्योगलाई अनुमति दिनुले ठूलै रकमको चलखेल भएको प्रष्ट देखिन्छ । ठेक्का लिएर लामो समयसम्म पनि आयोजना सम्पन्न नगर्ने ठेकेदारहरुले क्रसर उद्योगमा सेयर लगानी गरी आयोजनाको नाममा लाखौँ रुपैयाँ कुम्ल्याउने गरेको बुझिएको छ ।

प्रशासनको कडाई मजदुरलाई 
विभिन्न आयोजनाको नाममा नदी उत्खनन् गर्न अनुमति दिएको प्रशासनले दैनिक ज्यालादारी गरेको जिविका आर्जन गर्ने गरेका समुहलाई भने आफ्नो कडापन देखाउने गरेको छ । वालुवा चालेर घर चलाउने मजदुरको समुहलाई प्रशासनले निकै सास्ती दिनेगरेको व्यापाक गुनासो आएको छ । ‘ वालुवा चालेर नदी धमिलो पारेको निहुमा मलाई प्रहरीबाट धेरै धम्की आएको छ । ’, हेटौँडा–१२ निवासी महिला मजदुर लक्ष्मीमाया स्याङतान भन्छिन् ,‘ मैले बालुवा चालेर बालबच्चा पढाएको छु । तर, आरक्षको क्षेत्र परेको भन्दै मलाई काम गर्न प्रहरी–प्रशासनले रोक लगाएको छन् । ’ उनले आँसु झार्दै भनिन् ‘ के मेरो काम गरेर खाने अधिकार छैन । ? ’

के देखाउँछ आईइ रिपोर्ट ?

मकवानपुरको विभिन्न खोलाहरुमा गरिएको आइ.इ.ई रिपोर्टअनुसार मकवानपुरबाट वार्षिक जम्मा १२ लाख २९ हजार ५ सय ३८ घनमिटर नदीजन्य पदार्थ निकाल्न मिल्छ । जसअनुसार प्रतिदिन मकवानपुरबाट ४ हजार ५ सय ४४ घनमिटर कच्चा पदार्थ निकाल्न मिल्छ । तर, कुनैपनि मापदण्ड पुरा नगरीकन नदी उत्खनन् भैरहेको छ ।

एलडिओलाई कारवाही गर्ने नेकपा मकवानपुरको चेतावनी

मकवानपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई कारवाही गर्ने चेतावनी दिएको छ । विभिन्न आयोजनाका नाममा अवैद्यानिक क्रसर उद्योगहरुलाई मोटो रकमको चलखेलमा नदीजन्य कच्चा पदार्थ उत्खनन् गर्न दिएको भन्दै नेकपा मकवानपुरले एलडीओसहित नदीजन्य कच्चा पदार्थ उत्खनन् गर्न अनुमति दिन संलग्न रहेका सबैलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
 नेकपा मकवानपुुरका ईन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ले विभिन्न विकासे आयोजनाका नाममा जनताका पैसा असुल्नेलाई बाँकी नराखिने बताए ।‘नवीकरण नै नभएका क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समिति मकवानपुरले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको २०७२ सालको चिठि देखाउँदै नदी उत्खनन् गर्न अनुमति दिएकोमा नेकपा मकवानपुरको गम्भीर आपत्ती छ ।’ इन्चार्ज ज्वालाले भनेः ‘ मोटो रकमको मिलेमत्तो क्रसरमा व्यवसायी र मकवानपुरका एलडीओबीच साँठगाँठ भएको छ ।’