बैंक नहुदा जाजरकोट नलगाडका उपभोक्तालाई सास्ती

जाजरकोट,नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र रहेको दल्लीमा हालसम्म कुनै पनि बैंक नहुदा नगरपालिकाले दिएको योजना भुक्तानी चेक साथमा लिएर उपभोक्ता समितिका अध्यक्ष÷कोषाध्यक्षहरु जिल्ला सदरमुकाम खलंगा पुग्न बाध्य भएका छन् । बैंकिक करोवार गर्नका लागि नगरपालिकाले दिएको चेक साथमा लिएर समितिका अध्यक्ष÷कोषाध्यक्षहरु जिल्ला सदरमुकाम खलंगा पुग्न बाध्य भएका हुन् । उपभोक्ता समितिको कोषाध्यक्ष पदमा बस्नेहरु अधिकांश महिला रहेका छन् । बच्चाका आमा, शैक्षिक हिसावले कम्जोर महिलाहरुलाई जिल्ला सदरमुकाम खलंगामा पुगेर बैंकिक कारोवार गर्न निकै कठिनाई भएको छ । नलगाड नगरपालिका–१० रोली–चैते घोरेटोबाटो निर्माणको काम सम्पन्न भईसकेको छ ।

काम सम्पन्न भईसकेको घोरेटोबाटोलाई पासगरी नगरपालीकाले समितिका खातामा जम्मा हुनेगरी भुक्तानीको चेक उपभोक्ता समितिको हातमा थमाई सकेको छ । नगरपालिकाले दिएको भुक्तानी चेकलाई लिएर सदरमुकाम खलंगामा बैंकिक कारोवार गर्न आफुलाई निकै कठिनाई भएको समितिकी कोषाध्यक्ष प्रेमी पुनले वताईन । उक्त घोरेटोवाटो नगरपालिकाको अनुदानमा १२ लाख रुपैयामा कार्य सम्पन्न भएको नगरपालिकाका प्राविधिक मोहन खड्काले जानकारी दिए ।

प्रेमी पुन जस्तै कृष्ण कुमारी रावतलाई पनि नगरपालिकाले दिएको चेक लिएर जिल्ला सदरमुकाम खलंगामा पुगेर बैंकिक कारोवार गर्न निकै कठिनाई भएको छ । आफु बच्चाको आमा भएको हुदा बैंकिक कारोवार गर्न बच्चालाई साथमा लिएर जिल्ला सदरमुकाम पुग्न निकै कठिनाई भएको रावतले वताईन । पुन जस्तै रावत पनि साईलेसाँघु– रावतगाउँ, ध्यारगाउँ मोटरवाटो निर्माण गर्ने उपभोक्ता समितिको कोषध्यक्ष हुन । उक्त मोटरवाटो निर्माणका लागि यसबर्ष नगरपालिकाले २० लाख १६ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेट अनुसारको काम सम्पन्न भईसकेको प्राविधिक खड्काको भनाई रहेको छ । नगरपालिका भित्रै सहजरुपमा बैंकिक कारोवार गर्न पाउनेगरि राष्ट्रबैंकले कार्यक्षेत्र तोकिएको बैंकको शाखा तत्काल दल्लीमा स्थापना हुनु पर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलको तर्क छ । बैंक शाखा स्थापना गर्नका लागि दल्लीमा सबै प्रकारको पूर्वाधार विकास भईसकेको नगरप्रमुख रावलको भनाई रहेको छ ।

दल्लीमा चौबीसै घण्टा बत्तीबाल्न सक्नेगरि विद्युत आपुर्ती भएको, नेट–ईन्टरनेट सेवा सञ्चालन भएको, जिल्ला सदरमुकाम खलंगावाट सिधा गाडीमा यात्रा गर्न सकिने, सुरक्षाका हिसावले ९क० वर्गको ईलाका प्रहरी कार्यालय रहेको र दल्लीमा तमाम पक्की घरहरु बनीसकेको हुदा बैंक शाखा कार्यालय स्थापना गर्नका लागि कुनै समस्या नरहेको प्रमुख रावलले वताए । नलगाड नगरपालिकाको दल्लीमा शाखा स्थापना गर्न पाउने राष्ट्रबैंकले मान्यता दिएको बैंक अफ काठमाण्डौंले धेरै पटक दल्लीमा आएर साईट भिजिट गरिसकेको भएतापनि शाखा स्थापनामा ढिलाई गरेको नगर उप–प्रमुख बालकुमारी बस्नेतको भनाई रहेको छ । नगरपालीकाको कार्यालय रहेको घर छेउ नजिकै रहेको हरिबहादुर वलीको घरमा बैंक शाखा कार्यालय राख्ने भनेर बैंकका कर्मचारीहरुले घर हेरी सकेको भएता पनि कार्यालय स्थापना गर्नमा ढिलाई गरेको उनको आरोप छ ।