भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर

भारतले नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्साको वीरगञ्जमा नेपाली सीमा मिच्दै भारतले नयाँ सीमा स्तम्भ गाड्ने काम गरेको भन्दै रिट दायर गरिएको हो ।

अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगञ्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ । प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल भारत सीमा टोली प्रमुख लगायतलाई विपक्षी बनाई रिट दायर गरिएको हो । रिटमा पुराना पिल्लरको ठाँउमा नयाँ पिल्लर राख्दा नेपालतर्फ च्यापी सुगौली सन्धी र १८ सय १६ देखि १८ सय ९० सम्मका आधारमा नक्सा विपरीत सीमा गाडीएको दाबी गरिएको छ ।

रिटमा वीरगञ्ज माहानगरपालिका वडा नम्बर १ छपकैया क्षेत्रमा सिर्सैया खोलाधार तर्फको लगभग ३०० मिटर नेपालको जमिन मिचि मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्टो खन्ने काम भइरहेको छ उल्लेख गरिएको छ । सुगौली सन्धी विपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरिएको छ । रिटको पेशी बुधबारका लागि तोकिएको छ ।