उपत्यकासहित मध्य र पश्चिममा वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं उपत्यकासहित आज मध्य र पश्चिम क्षेत्रमा वर्षा भएको छ। सुदूरपश्चिमबाट मध्य क्षेत्रतिर सरेको पश्चिमी वायुको प्रभावले दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल काठमाडौँ उपत्यकासहित मध्य तथा पश्चिम क्षेत्रमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको छ।

मध्य क्षेत्रमा सक्रिय पश्चिमी वायु क्रमश: पूर्वतर्फ सरिरहेकाले मौसममा बदली भएको हो। पूर्वमा भने भोलि पानी पर्ने सम्भावना छ।मंगलबार देशको सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय वायु नेपाल प्रवेश गरेको हो। मौसमविदहरुका अनुसार यो वर्षालाई हिँउदे वर्षा भनिन्छ। यस वर्ष केही समय ढिला गरेर पानी परेको हो। गत साल पुस १० गतेको आसपास हिँउदे वर्षा भएकोमा यस पटक पोहोरभन्दा एक महिना ढिलो गरी पानी परेको छ।

यो वर्षाले किसानलाई राहत मिलेको छ। हिमाली तथा उच्च पहाडी क्षेत्रमा भएको हिमपातले त्यहाँका कृषकहरु बाली सप्रने आशामा खुसी देखिएका छन्। विभागले बिहान पौने ९ बजे उपलब्ध गराएको तथ्यांक अनुसार डडेल्धुरामा सबैभन्दा बढी १२ मिलीमिटर पानी परेको छ। पछिल्लो २४ घन्टामा धनगढीमा ७, नेपालगन्जमा ६, जुम्लामा ५ तथा भैरहवामा ६ मिलीमिटर वर्षा भएको छ।

पोखरामा ०.६ मिली मिटर वर्षा हुँदा काठमाडौँमा २ तथा सिमरामा १ मिलीमिटर पानी परेको विभागले जनाएको छ।पानी परेको बेला चिसो महसुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जानेछ। भोलिदेखि भने आकाश सफा रहने मौसमविदको भनाइ छ।