एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न देशभर पत्राचार

यस्ताे छ पत्र

पूर्वडिआईजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशैभर पत्राचार गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातै प्रदेशका प्रमुखहरुलाई एक सर्कुलर जारी गर्दै सिलवालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाईदिन निर्देशन दिएको छ ।

प्रहरी नेतृत्वको निर्देशनअनुसार प्रहरी निरीक्षक मदन कुँवरले हस्ताक्षर गरेर गरिएको पत्राचारमा मुलुकी ऐन किर्ते कागज महल अन्तर्गतको सरकारी कागजात किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केहि कुरा बुझ्नु पर्ने भएकाले उनलाई खोजतलास गरी अबिलम्ब महानगरीय प्रहरी परिसरमा उपस्थित गराइदिन भनिएको छ ।

आईजीपी बढुवाको क्रममा गोप्य हुने कार्यसम्पादन मूल्यांकन फाइल (कासमु) किर्ते गरेको अभियोग सिलवालमाथि छ । सर्वोच्च अदालतले सिलवाललाई कीर्ते प्रकरणमा दोषी ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । फैसला कार्यान्वयनको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न गत पुस १८ ललितपुर प्रहरीलाई पत्राचार काठमाडौं प्रहरीले पत्राचार गरेको थियो ।

त्यसको केहीदिनपछि ललितपुर प्रहरीले सिलवाल फेला नपरेको व्यहोरा काठमाडौँ प्रहरीलाई पठाएकोमा बुधबार फेरि प्रहरी प्रधान कार्यालयले देशभर सर्कुलर जारी गरेको हो ।  प्रहरीले खोज्न थालेपछि ललितपुर १ बाट निर्वाचित सांसद सिलवाल अहिले फरार छन् । सिलवालको स्थायी ठेगाना ललितपुर महानगरपालिका वडा नम्बर ४ भएको बताइएको छ ।

यस्ताे छ पत्र