प्रदेश नम्बर ५ को राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द

प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका गाडी चलेका छैनन् भने उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै बन्द भएका छन् । बन्द सफल पार्न भन्दै स्थानीय बासिन्दा सडकमा आएका छन् ।

दाङ प्रादेशिक सरोकार समितिको अगुवाईमा जिल्लाका घोराही, तुलसीपुर, देउखुरी, भालुवाङमा, बिजौरी लगायतका स्थानमा स्थानीय उद्योग बाणिज्य संघको आह्वानमा बुधबार बिहानैदेखि बजार बन्द गरि प्रर्दशन सुरु भएको छ । दाङलाई अस्थायी राजधानी नतोक्न चलखेल भइरहेको स्पष्ट संकेत आएको भन्दै राजधानी बनाउन दबाब दिनकालागि बन्द आह्वान गरिएको बन्दकर्ताहरुले जनाएका छन् ।

विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मीले भारतीय डिजाइनमा भारतीय सीमा नजिक राजधानी तोक्न लागिएकाले विरोधमा उत्रिनु परेको बताए ।