कसरी मिचियो ५० बिघा नम्बरी जग्गा ?

नयाँ पिलर राख्दा १२ नेपालीको नम्बरी जग्गा समेत भारतमा

नेपाल-भारत सिमानामा पिलर निर्माण र मर्मतका क्रममा नेपाली सीमा भारतले दिनदाहाडै मिचेकाे पाइएको छ । नेपाल र भारतले संयुक्त रुपमा हराएका र क्षतिग्रस्त पिलरको निर्माण र मर्मतको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं १ छपकैया क्षेत्रमा मात्रै १२ जना भन्दा बढी स्थानीयको झण्डै ५० विघा जमिन मिचिएको पाइएको हो ।

नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको हो । त्यस क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार पिलर नं ३९२ को ६, ७, ८ र २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा नेपालको भूभाग मिचिएको र झण्डै ५० बिघा नेपाली भूभाग भारतमा रहेको छ ।

नागरिकता र लालपुर्जाले नेपाली नागरिक भए पनि जग्गा भारतमा पर्ने भएपछि स्थानीय आश्चर्यमा परेका छन् । कतिले केही वर्षअघि मात्र जग्गा खरिद गरेका थिए । नेपाल-भारत सीमासँगै बगेको सिरिसिया खोलाको धार परिवर्तन भएसँगै भारतीय पक्षले सीमा स्तम्भ राख्ने स्थान पनि परिवर्तन गरेको स्थानीयको दाबी छ ।