डोल्पामा पाँच महिनादेखि चामल अभाव, ठेकेदारको चरम लापरवाही

चालु आर्थिक वर्षमा डोल्पाका लागि २३ हजार नौ सय क्विन्टल चामल स्वीकृत भएको छ। तर, पाँच महिना बितिसक्दा जम्मा एक हजार क्विन्टल मात्रै जिल्लामा पुगेको छ। ठेकेदारहरुको लापरवाहीका कारण डोल्पामा लामो समयदेखि चामल ढुवानी हुन सकेको छैन । यस वर्ष चामल ढुवानीको ढेक्का लिएका ठेकेदारले हालसम्म ढुवानी नगर्दा जिल्लामा खाद्यान्न पुग्न सकेको छैन । जसका कारण पाँच महिनादेखि डोल्पाका नागरिकले खाद्य संस्थानले बाँड्ने चामल पाउन सकेका छैनन्। जिल्लाका अधिकांश खाद्य डिपो नै रित्तिएका छन्।

खाद्य संस्थानको शाखा कार्यालय डोल्पाका अनुसार ओम जय दुर्गे जनरल अर्डर एन्ड सप्लायर्स लाटीकोइली सुर्खेत र इन्द्रदीप कन्सटक्सन वीरेन्द्रनगर सुर्खेतले डोल्पामा खाद्यान्न ढुवानीको जिम्मा लिएका छन्। तर, चामल ढुवानीका लागि सम्झौता गरेका ठेकेदारले हालसम्म जिल्लामा ढुवानी नगरेको शाखाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए।

‘ढुवानी सम्झौता भएको महिनौं भइसक्यो’, जोशीले भने, ‘तर अहिलेसम्म जम्मा एक हजार क्विन्टल चामल मात्रै ढुवानी भएको छ।’ गोदाममा चामल नआउँदा नागरिकलाई वितरण गर्न नसकिएको उनले बताए। बाटोको समस्या, ढुवानीको साधन अभाव र भाडादर नमिलेको जस्ता विभिन्न बहानामा हरेक वर्ष डोल्पाको खाद्यान्न ढुवानीमा ठेकेदारले लापरवाही गर्दै आएको उनी बताउँछन्।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको डोल्पामा हरेक वर्ष सुर्खेत, नेपालगञ्ज, दाङ र जुम्लाबाट खाद्यान्न ढुवानी हुने गरेको छ। आर्थिक वर्ष ०७४/७५ मा दुनै डिपोमा १४ हजार क्विन्टल, जुफाल, लिकु, काइगाउँ र सर्मि गरी हरेक डिपोमा एक हजार आठ सय क्विन्टल चामल वितरणका लागि खाद्य संस्थानले स्वीकृत गरेको छ। त्यसैगरी, माथिल्लो डोल्पाको तिन्जे डिपोका लागि चार हजार पाँच सय क्विन्टल चामल केन्द्रबाट स्वीकृत भएको छ। तर, हालसम्म दुनै र जुफाल डिपोमा गरी एक हजार क्विन्टल मात्रै पुगेको खाद्य संस्थानको डोल्पास्थित शाखा कार्यालयले जनाएको छ।

अघिल्लो वर्ष जिल्लामा २० हजार क्विन्टल चामल ढुवानी भई वितरण भएको थियो। चामलका लागि हरेक दिन सर्वसाधारण खाद्यको गोदाममा आउने गरेका छन्। तर, चामल नहुँदा उनीहरु रित्तै फर्किने गरेका छन्। खाद्यान्न ढुवानीको जिम्मा पाएको इन्द्रदीप कन्सटक्सनका जवानसिंह बुढाले सडकको असहजताका कारण समयमै पुर्‍याउन नसकिएको बताए। उनले चाँडै चामल डोल्पा पुर्‍याउने तयारी भइरहेको दाबी गरे।