काकाकुल चेपाङ बस्ती, सुत्केरी हुँदा समेत तिन दिनसम्म पानी खान नपाउँदा…..

काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ ।’

चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाललगायतको टोलीसमक्ष फूलमायाले दुखेसो पोखिन् ।गाउँ आएको सरकारी टोलीसमक्ष फूलमायाले दुखेसो सुनाउँदा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली गम्भीर भयो ।,समाचार अन्नपुर्ण पोष्ट बाट लियिएको हो ।

फूलमायाले थपिन्, ‘बिरामी भएर पानी बोक्न नसक्दा ११ दिनसम्म मुखमा पानी परेन । छिमेकीलाई पैंचो तिर्छु भनेर पानी ल्याउन भनें । निको भएपछि पेप्सीको बोतलमा पानी ल्याएर पैंचो तिरें ।’ यो पीडा फूलमायाको मात्र होइन, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ को विकट बस्ती ब्रुसवाङका चेपाङ समुदायका ३६ घरको हो ।

गाउँको अवस्था अवलोकन गरेपछि प्रजिअ नेतृत्वको सरकारी टोली चेपाङ बस्ती सार्न उपयुक्त हुने निष्कर्षमा पुगेको छ । सरकारी टोलीसँगै ब्रुसवाङ आएका गाउँपालिका प्रमुख हरि डल्लाकोटीले भने, ‘खानेपानी ल्याउने विषयमा धेरैपटक कुरा भए । योजना खर्चिलो एवं दिगो व्यवस्थापनमा समस्या आउने देखिएपछि बस्ती स्थानान्तरणको तयारी भइरहेको छ ।’