कतारबाट नेपाल ल्याइयो तिवारी हत्याका सहयोगीलाई

युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याइएको छ । नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई शनिबार नेपाल ल्याएको हो । प्रहरी मुख्यालयका अनुसार सिंजालीलाई कतार प्रहरीले एक साताअघि पक्राउ गरेको थियो ।

तिवारी हत्याको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार भनिएका मनोज पुन भने अझै फरार छन् । तिवारी हत्यामा पुनलाई सहयोग गर्ने सोमबहादुर आले, श्याम गुरुङ, सिंजाली र राजु नाममा सुटर पनि फरार छन् ।हाल नेपाल ल्याईएका सिंजालीमाथि तिवारी हत्यामा प्रयोग भएको पेस्तोल व्यवस्थापन गरेको र हत्यापछि समेत आफैंले हतियार लिएको आरोप प्रहरीको छ ।

अपराध अनुसन्धान विभाग अन्तगर्त इन्टरपोल शाखाकी प्रमुख एसपी किरण बज्राचार्यले सिंजालीलाई ल्याइएको पुष्टी गरिन् । उनलाई कतार प्रहरीले नेपाल डिपोट गरेर पठाएको थियो । नेपालस्थित इन्टरपोलका सुरक्षाकर्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंजालीलाई पक्राउ गरेर लगेको छ । पक्राउ परेका सिंजालीलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ ।

रुपन्देही प्रहरीले तिवारी हत्याको मुख्य योजनाकारको रुपमा मनोज पुनलाई हतियार व्यवस्थापनमा सघाएको आरोप सिंजालीमाथि लगाएको छ । तिवारी हत्यामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समिरमान सिंह बस्नेतको समेत संलग्नता रहेको दावी गरेको छ । बस्नेत अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा पक्राउ परिसकेका छन् ।

२०७३ पुस चार गते रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनी बजारमा तिवारीको गोली हानी हत्या गरिएको थियो । प्रहरीले तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल, सुटरलाई भगाउन सहयोग गर्ने मोटरसाइकल चालक लगायत केहीलाई पक्राउ गरेपनि प्रत्यक्ष संलग्नता रहेका अभियुक्त पक्राउ गर्न सकेको छैन ।