कानुन् अन्धो हुन्छ

कविता

हो, कानुन अन्धो हुन्छ ।
आखामा पट्टि बाधिएको
त्यसैले त,
देख्दैन अन्यायका
ठुला ठुला खाडलहरु
हो, कानुन अन्धो हुन्छ
आखामा पट्टि बाधिएको
त्यसैले त,
देख्दैन मन्चन भैरहेका
ठुला ठुला नाटकहरु
उसले त मात्र सुन्छ  ।
मालिकको अर्डर अर्डर
भन्दै बजारेको घनको आवाज ।

कानुन अन्धो हुन्छ ,
आखामा पट्टि बाधिएको
तिमी ठगिन्छौ उसले देख्दैन
तिमी लुटिन्छौ उसले देख्दैन
तिमी कुटिन्छौ उसले देख्दैन
उसले त मात्र सुन्छ  ।
कटघरामा तिमीलाई उभ्याई
सोधिएका अनगिन्ति प्रश्नहरु
उसले त मात्र सुन्छ ।
तिमी लाटो छौ
त्यसैले ठगिन्छौ,
तिमी सोझो छौ
त्यसैले लुटिन्छौ,
तिमी कमजोर छौ
त्यसैले कुटिन्छौ,
ठग्ने,लुट्ने र कुट्ने वाला
बलियो सावित भयो
त्यसैले, अर्डर अर्डर
जित उसैको भयो ।
भन्दै सुनाएका
मालिकका फैसलाहरु ।

तिमी पेस गर
जति नै ठुला सबुतहरु
तिमी ठगिएको,
तिमी पेस गर
जति नै ठुला सबुतहरु
तिमी लुटिएको,
तिमी पेस गर ।
जति नै ठुला सबुतहरु
तिमी कुटिएको,
कानुन अन्धो छ
आखामा पट्टि बाधिएको
देख्दैन तिम्रा सबुतहरु
उसले त मात्र सुन्छ
कालाकोटेका कू-तर्कहरु,
जसले तिम्रा सबुतहरु
सडक पेटीमा चिच्याउदै
लिलाम बनाईरहेका हुन्छन  ।
सयमा तीन जोर सयमा तीन जोर ।