पार्टी एकता नभए अनसन बस्छौं – युवा नेतृ सिंह

माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले दुई वामपन्थी पार्टीहरुबीचको एकता कसैले रोक्न नसक्ने बताएकी छन्। क्रान्तिकारीको कैलाली जिल्ला समितिलाई प्रशिक्षण दिँदै सिंहले विभिन्न शक्ति केन्द्रहरु वामपन्थी एकता भाँड्न लागिपरेको बताइन्। उनले दुई वामपन्थी पार्टीको एकता भाँड्ने प्रयासका बाबजुद नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न अब कसैले रोक्न नसक्ने दावी गरिन्।

फाेटाे ः फाइल

‘एमाले र माओवादी केन्द्रबीच एकताको शुरुवात हुनासाथ विभिन्न शक्तिकेन्द्रहरु एकता प्रकृया भाँड्न सक्रिय भएका छन्, कतिपयको निन्द्रा विथोलिएको छ तर अब यो एकता प्रकृयालाई कुनैपनि शक्तिले रोक्न सक्दैन’, सिंहले भनिन्,‘आम युवा विद्यार्थीले दुई वामपन्थी पार्टीहरु मिलेको देख्न चाहेका छन्, जनताको मत पार्टी एकताका लागि भएकाले अब यो प्रकृयालाई कसैले चाहेरपनि रोकिँदैन।’

सिंहले पार्टी एकता नगर्ने छुट दुवै पार्टीका शिर्षस्थ नेताहरुलाई नभएको भन्दै यदि कतैबाट एकता विथोल्ने प्रयास भए क्रान्तिकारीका अध्यक्ष एमाले मुख्यालयमा अनसन बस्ने चेतावनी दिइन्।

‘एकता नहुने संकेत पाएको खण्डमा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ एमाले मुख्यालयमा अनसन बस्नुहुनेछ र नविना लामा पेरिसडाँडामा धर्ना बस्नुहुनेछ, हामीपनि नेताहरुलाई खबरदारी गर्न अनसन बस्न तयार छौं’, उनले भनिन्। सिंहले युवा विद्यार्थीहरुको सपना वामपन्थीहरुको स्थायी सरकारले मात्र पुरा गर्ने जिकिर गर्दै अब देश विकास र समृद्धितर्फको यात्रामा अग्रसर हुने बताइन्।