जनतासामु गरेका बाचा पुरा गर्दै रामचन्द्र

घरघर बाँडे सोलार

हिमाली  जिल्ला डोल्पाका एक वडाअध्यक्षले अनुदानमा १०० थान सोलार वितरण गरेका छन् । काइके गाउँपालिका–७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नम्बर ५, ६ र ७ का ३०० घरधुरीलाई सोलार वितरण गर्ने योजनाअनुरूप प्रारम्भिक चरणमा उक्त परमाणको सोलार वितरण गरेका हुन् । सुनेरा कम्पनीको ५५ वाटको सोलार साबिकको लावन गाविसका बासिन्दालाई वितरण गर्न लागिएको वडाअध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । उनका अनुसार हाल १०० थान मात्र आएको र अब २०० थान सोलार आउन बाँकी छ । उनले भने, ‘बाँकी सोलार आउने निश्चित भएकाले वितरण थालिएको हो ।’

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा वैकल्पिक ऊर्जामार्फत ३०० थान सोलार ७५ प्रतिशत अनुदानमा डोल्पा ल्याइएको अध्यक्ष रोकायाले जानकारी दिए । दियालो बालेर दैनिकी गुजारिरहेका जनतालाई जनप्रतिनिधि भएर चुनिएपछि पहिलोपटक जनताको घरमा सोलारको उज्यालो दिने सानो प्रयास सफल हुन लागेको रोकायाले प्रतिक्रिया दिए ।

प्रतिथान २५ हजारबराबर पर्ने ५५ वाटको सोलारमा ७५ प्रतिशत वैकल्पीक ऊर्जाले अनुदान दिएको छ भने बाँकी २५ प्रतिशत जनताले आफैंले बेहोर्ने बताइएको छ । सदरमुकाम दुनैबाट जनताको घरसम्म भाडा र अन्य खर्चसहित प्रतिघरले ९ हजार रुपैयाँजति खर्च गर्नुपर्ने स्थानीय सुकमती बूढाले बताइन् ।

अँध्यारोमा बस्ने दिन जाने भएपछि ९ हजार रुपैयाँ तिर्न कुनै समस्या नभएको स्थानीय विष्णुचन्द्र बोहोराले खुसी व्यक्त गरे । वडावासीको मनोभावना बुझेको भन्दै उनले वडाअध्यक्ष र ऊर्जामन्त्रीलाई धन्यवाद दिए । अनुदानमा सोलार पाउ“दा स्थानीयहरू खुसी हु“दै वडाअध्यक्षलाई टीका लगाइदिएका थिए ।