पूर्वराजा ज्ञानेन्द्र शाह र आदित्यनाथबीच लखनउमा डेढघण्टा वार्ता

पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गरेका हुन्।

मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश राज्यमन्त्री जनरल भिके सिंहसँग पूर्वराजासँग तय भएको भेटबारे छलफल गरेका थिए। नेपालमा २०६५ सालमा गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्रले औपचारिक रूपमा भेटेका सबैभन्दा उच्च भारतीय अधिकारी आदित्यनाथ हुन्। आदित्यनाथले विगतमा लोकसभा सांसदका रूपमा पूर्वराजा ज्ञानेन्द्रसँग पटक–पटक भेटवार्ता गरेका छन्। उनीहरूबीच पछिल्लो भेट २०७३ कात्तिक पहिलो साता काठमाडौंमा भएको थियो।

४ देखि ६ कात्तिकसम्म काठमाडौंको वनकालीमा विश्व हिन्दू महासंघद्वारा आयोजित विराट् हिन्दू सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए। कार्यक्रममा दुवैजना सँगै थिए भने आदित्यनाथले पूर्वराजासँग अलग्गै भेटवार्ता गरेका थिए। त्यसवेला शंकराचार्य वासुदेवानन्द र भाजपा नेता रघुनन्दन शर्मा पनि भेटवार्तामा साथै थिए। त्यसको एक वर्षअघि नवलपरासीको प्रतापपुरमा आयोजित कार्यक्रममा पनि पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथ सँगै थिए । दुवैले हिन्दू सम्मेलनलाई सम्बोधन गरेका थिए।