डा. केसीले अदालतको अवहेलना गरे नगरेकोबारे आज सुनुवाई हुने

सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई मंगलवार प्रहरीले अदालतमा पेश गर्ने भएको छ । अदालतको अवहेलना गरेको भन्दै पक्राउ गरेर अदालतमा पेश गर्न प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले मंगलबार कार्यालय समयमा डा. केसीलाई अदालतमा पेश गरिने भएको हो ।

न्यायालयविरुद्ध आन्दोलनरत डा. गोविन्द केसीलाई प्रहरीले सोमबार साँझ त्रिवि शिक्षण अस्पताल परिसरबाट पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ । डिएसपी रमेश दत्त जोशीको टोलीले डाक्टर केसीलाई अनसनस्थल महाराजगन्जबाट पक्राउ गरेको हो। सोमबार ४ बजेबाट केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका थिए ।

अदालत विरुद्ध बोलेपछि सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले केसीविरुद्ध अदालतको अवहेलनासम्वन्धी मुद्दा हालेका थिए। त्यही मुद्दामा सुनुवाई गर्दै न्यायाधीश शाहीको इजलासले केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।