भूकम्पले ‘देवता’हरूकै उठिबास

भूकम्पमा परेर देवताहरूकै उठिबास लागेको खबर सुन्दा अचम्म लाग्ला। तर, ललितपुरको खोकनामा १७ जना जीवित देवताको उठीबास भएको छ। खोकनामा ४६ जना जीवित देवताको बसोबास रहेको दाबी यहाँका स्थानीय बासिन्दाको छ। तीमध्ये भूकम्पका कारण १७ जना देवताको बिचल्ली भएको हो।

भूकम्पले बास उठेका दर्जनौं जीवित देवतामध्येका एक हुन्, ७६ वर्षीय मानभक्त महर्जन। नेवारी संस्कृतिअनुसार २०२१ सालमै उनी ‘भगवान’ बनेका थिए। आर्थिक अभावको कारण घर बनाउन नसकेर टहरोको बस्नुपरेको गुनासो गर्छन् उनी।डेढ आना जग्गामा बनेको घर भत्किएपछि अमेरिकन गैरसरकारी संस्थाले दिएको जस्ता हालेर एउटा निजी टहरा हाल्ने सोचमा छन्। तर उनले अहिलेसम्म घरको भग्नावशेष पन्छाउन सकेका छैनन्।

हुन पनि उनको एकपाथी बीउ लाग्ने जमिन मात्र छ। त्यही बेचेर घर बनाउँदा गाँसै रोकिने उनी बताउँछन्। दमको समस्याले च्यापे पनि उनलाई औषधि किन्नै हम्मे छ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।