जाजरकोटमा भाइरल ज्वरोले लियो दुई जनाको ज्यान

दर्जनौ विरामी

जाजरकोटमा एक साता देखी फैलिएको रुघाखोकी र भाईरल ज्वरोले दुई जनाको ज्यान गएको छ । रुघाखोकीले केही दिन देखी थलिएका जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षिया धनसरा नाथ र ७५ बर्षका सतरुप शाहीको ज्यान गएको स्वाथ्य चौकी बड्कुलेका ईन्चार्ज हरिबहादुर सिंहले बताए । नाथको बुधवार र शाहीको विहिवार ज्यान गएको हो । ज्वरो र रुघाखोकीले तीन सय बढी गाँउलेहरु विरामी परेका छन् । उनले स्वाथ्यचौकीमा दैनिक ४०÷५० जना भाइरलका विरामी आउने गरेको बताए ।

विरामीहरु रोग लाग्ने वित्तिकै उपचारको लागी स्वास्थ्य संस्था नआउने र झारफुक गर्न तिर लाग्ने गर्नले समस्या देखियो ईन्चार्ज सिंहले भने गाँउ विरामीको संख्या बढ्दै गएको छ । जुनीचाँदे गाँउपालिका वडा नं १ को जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाँउ, वडा नं २ का मजकोट, आलीमौगाना र वडा नं ३ का डाडाकोट र परालेमा भाइरल प्रकोपको रुपमा देखा परेको स्वास्थ्यकर्मीले जनाएका छन् । सवै भन्दा बढी वडा नं २ मजकोटमा विरामी देखा परेका छन् । एउटै घरमा ३,४ जना सम्म विरामी परेको स्थानिय काशीराम न्यौपानेले बताए ।

जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका विरामी बढेको पाईएको छ । विरामीहरुमा घाँटी दुख्ने, सुख्खा खोकी, टाउको दुख्ने, हातखुट्टा दुख्ने, चिटचिट पसिना आउने, ज्वरो आउने लगायतका समस्या देखिने गरेको छ । भाईरलको प्रकोप फैलिएको सुचना पाएपछि जिल्ला स्वास्थ्यले रोग पहिचानको लागी ल्याव टेक्निसियन कृष्ण खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा पठाएको जनाएको छ । रोगको पहिचान गर्न टेक्निसियन पठाएका छौ जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने एच १ एन १ हो कि भनेर टेष्ट किड पठाएका छौ ।

यदि एच १ एन १ भए रोग फैलिने खतरा धेरै हुने भएकोले पहिचानका लागी समयमै तथारुपता देखाएका हौ । त्यस्तै प्रभावित क्षेत्रमा थप उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा. पवन शाक्यको नेतृत्वमा थप टोली पाएको कार्यालय प्रमुख नेपालीले बताए । त्यस्तै औषधी अभाव हुन नदिन शुक्रवार मात्र एक ट्याक्टर औषधी समेत पठाईएको उनले जानकारी दिए ।

उनले रुघाखोकीले मृत्यु भएका भनिएका के कारणले भएको हो त्यसको पनि सत्य तथ्य छानवीन गरिने बताए । भाईरलको रुपमा देखा परेको रुघाखोकीलाई प्रकोपकै रुपमा फैलन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको उनले बताए । क्षेत्र र केन्द्रलाई पनि खवर गरिसकेको छु । थप औषधी पनि मागेको छु । रोग छिटै नियन्त्रणमा लिन्छौ उनले भने ।