महिलाहरु पनि हातमा ढाल,तरवार लिएर यसरी ढल्की–ढल्की नाँचे खाँडो नाँच

खुशीयाली’ढिमे‘झाँदेउ मेलाको

पाँच बर्षमा एक पटक लाग्ने कुशे गाउँपालिका–५ ढिमेको झाँदेउ मेला यस बर्ष लागेको छ । पुस पूर्णिमाको दिन लागेको झाँदेउ मेलाले बाल देखि बृद्ध सबैमा खुशीयाली ल्याएको थियो । पञ्चबर्षीय रुपमा लाग्ने झाँदेउ मेला मान्नका लागि एक महिना पहिले देखि ढिमेबासी घर लिप–पोतगर्नुका साथै मेलामा लगाउने लत्ता–कपडा तथा गरगहना किन–मेल गर्न जुटी सकेका थिए ।

पाँच बर्षमा एक पटक लाग्ने मेलामा घरको आर्थिक अबस्थाले कम्जोर भएपनि ऋणकर्ज गरेर भएपनि राम्रो लगाउनु पर्ने र मिठो खानु पर्ने परम्परा रहेको ढिमेबासी गणेशबहादुर मल्लले वताए । मेलामा घरमा आएको पाहुँनालाई भोकै पठाउन नहुने बताउदै मल्लले भने–‘मेला अवलोकणमा आएको कुनै पनि नागरिक चारगाउँका नागरिकले मान्दै आएको कुल देवता झाँदेउको पाहुना हुने भएको हुदा घरवाट कसैलाई पनि भोकै पठाउन मिल्दैन, घरमा आएको पाहुनालाई भोकै पठाएमा देवता बेखुशी हुन्छन ।’

ढिमे, दम्दाला, खुर्पा र करुवाका नागरिकले मान्दै आएको कुलदेवता झाँदेउ मेलामा लगाउने कपडा किन्नका लागि कुशे गाउँपालिका–५ ढिमेका भक्तबहादुर मल्ल मेलाको १५ दिन अगाडी जिल्ला सदरमुकाम खलंगा पुगेका थिए । गाउँमा कपडा किन्नलाई पसल नभएको वताउदै भक्तबहादुर मल्लले भने्– ‘मेलामा बुढीले लगाउने सारी, चोली, बालबच्चाहरुको लागि रंगीबिरंगीका कपडा र जुत्ता मोजा किन्नका लागि सदरमुकाम खलंगा पुगेको छु ।’ भक्तबहादुर मल्ल जस्तै दम्दालाका चक्रबहादुर थापा पनि आफु र आफ्नो बुवाले मेलामा लगाउने कपडा किनमेल गर्न २० दिन पहिले खलंगा पुगेका थिए ।

गत बर्षको फागुणदेखि सुर्खेतमा अहेव लोकसेवा तयारी कक्षामा अध्ययनरत ढिमेका जनकराज चन्द झाँदेउ मेला मान्नलाई पढाई छोडेर मेलाको ९ दिन पहिले जिल्ला सदरमुकाम खलंगा आई पुगेका थिए । पाँच बर्षमा लाग्ने मेला हेर्नै पर्ने ठानेर पढाई छोडेर जिल्लामा फर्किए जनकराज चन्दले भने–‘सामाजिक परम्परागत रुपमा मान्दै आएको मेलामा पुजा गरिने देवतालाई खुशी राख्न सकिएमा सबै मनोआकांक्षा पुरा हुने आत्म बिश्वासले पढाई छाडेर मेला मान्नलाई घर आएको हौं ।’

अनौठो तरिकाले गरिन्छ झाँदेउको पुजा 

पुजारीले पुजा गर्नु एक दिन पहिले कपाल देखि आँखीभौंसम्म विलेटले फालेर शिरमा कात्रो बाँधेर खाली पेट बस्नु पर्ने परम्परा रहिआएको पुजारी बीरे मल्लले जानकारी दिए । बारेकोट गाउँपालिका अन्तरगत पर्ने ताँसीको धुपी, रग्र्यामको निकांलो, बाँसको सुपो, सल्लाको टुपो अनिवार्य प्रयोग गरिनु पर्ने देवताका पुजारी मल्लले वताए । साथै देवताको नाममा जाँडको ठाँ लगाउनु पर्ने, चल्ला काटेर रगत चढाउनु पर्ने, साँढको मुटू झिकेर मंन्दीरमा चढाउनु पर्ने, गोरुको साँढे छोड्नु पर्ने, ढाँल तरवार हातमा लिएर खाँडो नाँच नाँच्नु पर्ने, देवताका धामीसंग चो भाई खेल्नु पर्ने पुजारी मल्लको भनाई रहेको छ ।

पुजा गर्ने पुजारी देवता आफैले छानौट गर्दै आएको देवताका जानकारहरु वताउछन् । हरेक पूजारीले झाँदेउको एक पूजा भन्दा अर्को पुजा लगाउन (पाँच बर्ष वित्न) नपाउदै पूजारीको मृत्यु भईहाल्ने अघिल्लो पुस्तामा भएता पनि हालका पूजारी बीरे मल्ल पुजारी भएको झण्डै ७५ वर्ष वितिसकेको छ तर, पुजारी जीवित नै छन् । पाँच बर्षमा एक पटक पुजा गरिने झाँदेउ मेलाको पुजा पुजारी मल्लले आफ्नो जीवन कालमा १५ पटक गरि सकेको वताएका छन् । ८१ बर्षिय पुजारी बीरे मल्लले पहिलो पुजा ८ बर्षको उम्मेरमा गरेको वताए ।

लामाहरुको देवता 

मुगूवाट ढिमे बसाई–सराई गरेका लामा(भोटे)हरुले झाँदेउलाई मान्दै आएको ढिमे निबासी कृष्णबहादुर मल्लको भनाई रहेको छ । झण्डै २ सय बर्ष पहिले झाँदेउ र राँदेउ देवता लामा(भोटे)हरुको भएता पनि रुकुम गोतामकोटमा बस्ने गोतामी राजा गौरव मल्ल शिकार खेल्न पहिलो पटक ढिमे आईपुग्दा ढिमेमा रहेको लामा(भोट)को राजासंग मित लगाएको हाल ढिमेका मल्लहरुको वंशावलीमा उल्लेख गरिएको छ ।

गोतामकोटका गौरव मल्ल दोश्रो–तेश्रो पटक शिकार खेल्न ढिमे आई पुग्दा ढिमेको जग्गा, जमिन, वनजंगल राजा मल्लले मन पराए आफ्नै मित लामा(भोटे) राजासंग लडाई लड्ने योजना वनाएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । दुई सय बर्ष पहिले गौरव मल्लले कायमैदेका कयाल टमट्टा, दामाचौरका दामे ढोली, गोतामकोटका गोतामे सार्की र गिठाकोटका बाहुँनलाई साथमा ल्याएर लामा (भोटे) मितसंगको लडाई जितेर सिङ्गै ढिमेको गाउँलाई कब्जा गरेपछि लामाहरुको देवतालाई हाल ४ गाउँका नागरिकहरुले कुलदेवताका रुपमा मान्नु पर्ने अबस्था श्रृजना भएको कृष्ण मल्लले बताए ।

पंञ्चवर्षिय रुपमा मनाईउदै आएको झाँदेउलाई भान्जलाई काँटेर मान्छेको भोग चढाउनु पर्ने परम्परा लामा(भोटे)हरुकै पाला देखि चल्दै आएको चलन भएको दम्दालाका रणबहादुर थापाको भनाई रहेको छ । गौरब मल्लको पालामा भान्जलाई काँटेर मान्छेको भोग चढाउने प्रचलनको अन्त्य गरि साँढको मुटु झिकेर देवताको मन्दिरमा चढाउने चलनको सुरुवात भएको थापाले वताए । देवताको नाममा गोरुको साँढे छोड्नु पर्ने प्रचलन पनि गौरब मल्लकै पाला देखि सुरु गरिएको हो । समयको बिकासक्रमसंगै पुजागर्ने प्रचलनहरुको परिमार्जन हुदै आईरहेको छ ।

ढिमे, दम्दाला र खुर्पामा नाचिने पौरानिक खाँडो नाँच झाँदेउ देवताको नाममा नाँचिने निकै चर्चित नाँच हो । हातमा ढाल तरवार लिएर दमाहाको तालमा नाँचिने खाँडो नाँच भब्य लडाईको तयारी भैरहेको वा लडाई जितेर लडाईकै मोर्चामा विजयी नाँच नाँचिरहेको जस्तो दर्शकहरुले अनुभुती गरिने नाँच हो । पुरुष मात्र सहभागि हुने उक्त खाँडो नाँचमा यसपालिको झाँदेउ मेलामा महिलाहरु पनि सहभागि भएका थिए । दम्दालाकि पुतली थापा, निर्मला शाही, अमृता थापा, बिमला थापा, निर्मला सिंह, पार्वती थापा, कालिका थापा, लक्ष्मी थापा, लक्षिमा थापा, जानकी थापा, सावित्रा मल्ल र ढिमेकी देवी मल्ल, जानुका चन्द यसपालीको झाँदेउमा हातमा ढाल तरवार लिएर ढल्की–ढल्की नाँचेकी थिईन । दर्शकहरुलाई निकै मनोरन्जन दिएका महिलाहरुले छुट्टै टीम बनाएर खाँडो नाँच नाचेका थिए । आगामी दिनमा गाउँमा महिलाहरुको छुट्टै टीम बनाएर नियमित रुपमा खाँडो नाँच्ने पुतली थापाको भनाई रहेको छ । घरेसी कामको बोझले महिलाहरुलाई खाँडो नाँच्न फुर्सद नभएता पनि पुरुष सरह नाँच्न सकिने देवी मल्लको भनाई रहेको छ ।