जनताको नासो, नेताको हाँसो

एउटा गाउँमा बुद्धिचालका प्रकाण्ड खेलाडीरहेछन् । यति निपूर्ण थिए कि गाउँदेखि सहर बजारसम्म प्रसिद्धि फैलिएको थियो । पारङगत ठानेर घमन्डले चुर उनले आफ्नो घरको ढोकामा समेत ‘बुद्धिचाल बादशाह’ लेखेर झुण्ड्याएका थिए । एक दिन त्यो गाउँमा अर्को गाउँका कुनै अपरिचित बटुवा एउटा लंगडो गधा डोर्याउँदै आइपुगे । अँध्यारो हुनै लाग्दा ती बटुवा बुद्धिचाल बादशाहको घरको ढोका ढक्ढक्याउँदै पुगेर भनेछन– ‘मलाई तपाईंसंग एकपटक बुद्धिचाल खेल्ने धोको छ । कृपा गरेर मेरो अन्तिम इच्छा पूरा गरिदिनुस् ।’

लेखक

उनले आफू जो पायो त्यहीसँग नखेल्ने यदि खेल्ने नै भए कुनै बस्तु या पैसाको बाजी राख्नुपर्ने सर्त तेस्र्याए छन् । बटुवाले आफूसँग बिरामी गधा बाहेक केही नभएको तर बुद्धिचाल खेल्ने ठूलो इच्छा भएकोले गधा बाजी राखेर खेल्ने बताए छन् । खेलाडी तयार भए । खेल शुरु भयो । नभन्दै ५, ७ चाल चल्न नपाई बटुवा हारेछन् । उनी गधा सुम्पेर आफ्नो बाटो लागेछन् । यता ती बुद्धिचालका खेलाडीले बिरामी गधाको उपचार गरेर ठीक पारी त्यसलाई आफ्नो काममा लगाउन थालेछन् ।

संसारमा नयाँ भनेको केही हुँदैन । नयाँ भनेको प्रयोगको चलाखी मात्र हो । सम्पति नामको राती गेडी एउटा कलम र कागज भएको एउटा कविले समाजमा यत्रो तरंग ल्याउन सक्छ । चेतनाको छालमा समाजलाई पौड्याउन सक्छ । सत्मार्ग हिँड्नेले एक्काइसौं शताब्दी मात्र होइन पाषाण युगबाट पनि उत्तिक्कै मार्गदर्शन पाउन सक्छ ।

केही दिन पछि ती बटुवा त्यही गाउँ हुँदै फर्किए छन् । तिनले फेरि एक पटक खेल्ने इच्छा व्यक्त गरेछन् । हारेमा एक सय वटा चाँदीका सिक्का दिने र जितेमा आफ्नो गधा फिर्ता लिने सर्तमा दुबैजना खेल्न राजी भए ।  यस पटक भने ४, ५ चाल चल्ने बित्तिकै बुद्धिचालका बादशाहको नराम्रो हार भएछ । ती बटुवा कुनै साधारण नभई प्रतिभाशाली खेलाडी भएको थाहा पाएपछि गाउँलेले सोधे छन– ‘ यस्तो प्रतिभावान खेलाडी अघिल्लो पटक शर्मनाक पराजय भोग्न किन तयार हुनुभयो ?’ उनले गम्भीर हुँदै जवाफ दिएछन्– ‘पहाडभन्दा ठूलो अर्को पहाड र आकाशभन्दा बाहिर अर्को आकास हुन्छ ।

त्यसैले घमन्ड कसैले गर्नु हुँदैन । अघिल्लो पटक म यो गाउँबाट हिँड्ने क्रममा मेरो गधा बिरामी भयो, त्यसैले मैले त केवल यसको निःशुल्क उपचार र हेरचाह गराउनको लागि मात्रै यो चाल चलेको थिएँ ।’ चुनावी परिणाम नेपाली जनताले दिएको नासो पनि हुबहु यस्तै हो । न यसको अर्थ न पेटी ठेकेदार न त कसैलाई दम्भको खस्रे भ्यागुतो बनाउने अभिप्राय नै हो । अबको संसारमा शासक हुन्छु भन्ने घमण्ड कसैले पाल्छ भने त्यो भन्दा हुस्सु, घामट र अशिष्ट मानिस कोही हुँदैन । अब शासन हैन, समन्वय गरिन्छ । संसारमा ठूलो मानिसको नभएर सुसंस्कृत विचारको पूजा हुन्छ ।

जेलनेलको ढड्डा पल्टाएर कसैले वरिष्ठताको ताउ लगाउन खोज्छ भने उ सबैभन्दा पहिला घरबाटै बहिष्कृत हुन्छ । यही समाजमा एउटा समय थियो– घरमा मुरीका मुरी मसिना धान, लैना गाईभैंसी र धेरै जहान हुनेहरु समाजका वरिष्ठ ठहरिन्थे । अर्को समय आयो– हातमा चुरोट, औंठी, साईको फाइव घडी, बेली पेन्ट र टेपरिकर्डर बोक्नेहरु समाजका हिरो ठहरिन्थे । यो दृश्य पनि समयलाई धेरै समय मन्जुर भएन । त्यसपछि काठमाडौंमा जग्गा र दाँती मिलेका घर जोड्नेहरु समाजका डन ठहरिए । एक दशक यता यी सबै श्रृंखला अन्त्य हुँदै पीआरको भीडमा संसार कुदेको छ । कोही परिवार शिक्षित, सभ्य र समृद्ध उसका परिवारका सदस्य को कति विदेशमा छन ? परिवार सूचना प्रविधि क्षेत्रमा कति मैत्रीपूर्ण छ भन्ने तथ्यले ठूलो अर्थ राख्छ ।

भात पकाउन नजाने केही फरक पर्दैन तर आइफोन र आइप्याड चलाउने ढंग भएन भने छोरीबुहारीको आलोचना हुनसक्छ । आईटीका सामग्री आधुनिकता सम्पन्नताका मानक भएका छन् । गाई, भैंसी, रोपनीको ठाउँ आईफोन र आईप्याडले लिएको छ । अब कुनै बहादुर या प्रसाद मन्त्री, प्रधानमन्त्री बन्यो भन्ने समाचार चासोको विषय हुन छोड्यो । यिनै सञ्चार माध्यम थिए– कुनै देशले भूउपग्रहमा रकेट प्रक्षेपण गरेको हेडलाईन बनाउँथे । अहिले त्यो ठाउँ सफ्टवेयर र एप्सले लिएको छ । सूचना प्रविधिले संसारलाई यसरी जोडिदियो कि घरमा एक्लिने तर संसारसंग जोडिने सूत्र फेला पारिदियो । पुस माघको जाडोमा कार्यकर्तालाई आइसक्रिम बेच्न पठाउने पुरातन कम्युनिष्ट दर्शनमाथि व्यंग्य प्रहार गर्दै सामाजिक सञ्जालहरुले समानताको अनौठो प्रयोग गरिदिए । फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम जुनसुकै प्रयोग गर्नुस् त तिनीहरुले राजादेखि रंकसम्मलाई दिने सुविधा एउटै हो ।

वास्तवमा साँचो राजनीतिक समाजवादका असली प्रयोगकर्ता यिनीहरु हुन सक्छन् । नेपालमा राजनीति गर्ने मुखियाहरु मध्ये कसैले बुर्जुवाको अन्त्य गर्ने शंखघोष गरे । कोही शोषक सामन्त विरुद्ध ओर्लिएको नाटक गरे । कसैले बीपीको सपना साकार पार्ने नाममा आफ्नै विपनाको जोहो गरे । सवैलाई समान बनाउने संकल्प फगत नाटक सावित भयो । उनीहरुले मात्र बुझ्ने अमूर्त शब्दावलीले जनतालाई दशकौं कुहिरोको काग बनायो । नेताहरुले व्यापारिक अस्पताल बनाउने संकल्प गर्नुअघि रोगमुक्त स्वस्थ जनताको परिकल्पना गर्न किन सकेनन ?

गाउँगाउँमा हेलिप्याड र सुपथ औषधिको बन्दोबस्त गर्छु भनेर घोषणापत्रमा लेख्नेहरुले पचास रुपियाँ किलोमा बोइलर मासु उपलब्ध गराएर जनतालाई मासुभात ख्वाएर स्वस्थ बनाउँछु भन्न किन हिच्किचाए ? भरपर्दो सुरक्षा व्यवस्था मिलाउँछु भन्नेहरुले काम र दामको समायोजन गर्ने वित्तिक्कै कसैले कसैको गोजी काट्नु पर्दैन भन्ने तथ्य किन विर्सिए ? मोटरबाटो सबै ठाउँ पु¥याइदिने हो भने गाडी किन्न सरकारको मुख ताकेर कोही बस्दैन भनेर अथ्र्याउनु भनेको चिनी गुलियो भनेर बर्बराउनु जस्तै हो । राजनीति सेवाको अर्को नाम हो ।

यो सटर चौबीस घण्टा खुल्ला रहन्छ । अनि सफल नेता त्यो हो, जो आपूm कुटीमा बसेर जनतालाई महलमा राख्ने साहस राख्छ । आफु महलमा बसेर जनतालाई आकासमुनिको बास बनाउनु भनेको राजनीति नभएर दलाली हो । नेता साँचो बोल्ने मात्र भइदिए पनि देशका लागि ठूलो गुन लाग्छ । आफ्नो आत्मकथामा महात्मा गान्धी भन्छन्–  ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसहारी दाजुको सुनको बालाको टुक्राको थियो ।

उनलाई लगभग २५ रुपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं । मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन् । बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन् । मलाई लाग्यो– मैले यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । मैले चिट्ठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिट्ठी दिँदा मेरा हात कामेका थिए । उहाँले चिट्ठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठ्ठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुख बुभेंm । यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रो संग तयार गर्न सक्थें ।’

कवि धरणीधर कोइरालाको जाग न जागजस्ता कविताले त्यसवेलाका क्रान्तिवीरहरुलाई यसरी जगायो, बन्दुकको नालमाथि विजय पाउन युवाहरु रणमैदानमा ओर्लिए । गोपालप्रसाद रिमालको आमा कविताको भावभूमि त विचित्रैको छ । जुन अहिले पनि आलै छ । राजनीतिक क्रान्ति भलै नहोस्, भानुभक्तले कविताबाटै घुस्याहा डिट्ठा, विचारीहरुको उछितो काढे । आप्mनै साथी गजाधर सोतीकी श्रीमतीको असभ्य र अशिष्ट व्यवहारलाई उनले कलमबाट बाहिर ल्याएर अरुलाई असभ्य हुनबाट जोगाए । संसारमा नयाँ भनेको केही हुँदैन । नयाँ भनेको प्रयोगको चलाखी मात्र हो । सम्पति नामको राती गेडी एउटा कलम र कागज भएको एउटा कविले समाजमा यत्रो तरंग ल्याउन सक्छ । चेतनाको छालमा समाजलाई पौड्याउन सक्छ ।

सत्मार्ग हिँड्नेले एक्काइसौं शताब्दी मात्र होइन पाषाण युगबाट पनि उत्तिक्कै मार्गदर्शन पाउन सक्छ । सच्चा मानिसले कमिलाबाट पनि मेहनत सिक्न सक्छ । त्यो मेहनत सार्थक हुँदा मह जम्मा गर्न उसले मौरीको बाटो हेर्नु पर्दैन, झारपात नै काफी हुन्छ । त्यसैले भनिन्छ– भाले नबासेर विहान हुन रोकिदैन ।  लवाई खवाई र कागजी चिर्कटोमा पाएको प्रमाणपत्र हेर्ने हो भने हाम्रा नेताहरु एक से एक छन् । घरमा र्याकभरि किताव पनि राख्छन् । पुस्तक मेला लाग्दा हाँप र झाँप गर्दै हजारौंको किताव किन्छन् । तर उदेक लाग्दो यिनीहरु पढ्छन चाहीँ के ? के पढ्ने सुसंस्कारयुक्त मानिसहरुको गति मति यस्तै हुन्छ ? उनीहरुको जीवनमा कितावी ज्ञानको थोरै तत्वबोधले प्रवेश पाएको देखिदैन । रामायण पढ्छन् अनि मच्चाउँछन् महाभारत । हातमा गीता लिन्छन् , बाइबलको रोडम्याप तय गर्र्छन् ।

बाटो र माटोको अन्तर भेउ पाइन्न भने त्यस्तो ज्ञानको के अर्थ ? कुनै शास्त्रले पनि जन्ती र मलामी हिँड्ने बाटो अलग अलग कल्पना गरेको छैन् । भनिन्छ– गुरुले ज्ञान बाँड्छन् अनि शिक्षकले सूचना । शायद गुरुको ज्ञान हैन, शिक्षकको सूचना हाम्रा लागि मूलमन्त्र बन्दै गएको छ । पढेर यस्तै घामट हुने हो भने संसारबाट कागजको कारखाना बन्द गरिदिए केही फरक पर्दैन । दूध खाएर सर्पले झैँ विष निकाल्ने हो भने त्यो ज्ञानको अर्थ छैन् । बरु ज्ञान भनेको त घाँस खाएर दूध दिने गाई भैंसी जस्तो पो हुनुपर्छ ।

यदि नेताहरुले साँच्चै पढेकै हुन भने या पढ्नकै लागि कितावको ठेलीले दराज भरेका हुन् भने लेखनाथको काल महिमाले किन पेट पोल्दैन ? भानुभक्तको प्रश्नोत्तरले केही गरौं भने अभिलाषा किन जाग्दैन ? धरणीधरको जागरण कविताको गद्यधाराले किन अल्छी पखाल्दैन ? माधव घिमिरेको राष्ट्र निर्माता कविता देश केक बनाउने विक्षिप्त मानसिकतामा किन परिवर्तन ल्याउँदैन ? भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को व्यंग्यले किन कसैको ह्याकुलोमा प्रहार गर्दैन ? जर्ज बर्नाड शाले भनेका छन्– पढ्नु पर्छ भन्ने सवैलाई थाहा छ ।

तर के पढ्नु पर्छ भन्ने कसैलाई थाहा छैन । सम्भवतः नेताहरु यही अभिव्यक्तिको शिकार भए । नपढेको पुस्तक, नहिँडेको बाटो, प्यास नमेटिने पानीको के स्वाद हुन्छ र जिन्दगीमा ? जतिसुकै ठूलो समुद्रमा पौडिए पनि मानिसको तिर्खा मेटने तागत त त्यही तिरतिरे धाराले राख्छ । समुद्रको नुनिलो पानीले तिर्खा बढाउँछ । घटाउँदैन । जतिसुकै राम्रो र आकर्षक भएपनि मानिसको अनुहार २० वर्षसम्म मानष्पटलमा रहला । तर विचार २ हजार वर्षसम्म अमर रहन्छ । त्यसैले नेताहरुले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ ।