ईपीएल क्रिकेटको उपाधि विराटनगरलाई

भैरहवा १ रनले पराजित

एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको उपाधि विराटनगर वरियर्सले जितेको छ। फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो । रोचक फाइनल खेलमा भैरहवाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।

विराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमा राम्रो प्रदर्शन गरेको भैरहवाले अन्तिममा लगातार विकेट गुमाएको थियो । भैरहवाका लागि कप्तान शरदले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । भैरहवाका लागि प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन बनाए । यद्यपी पछाडि आएका ब्याट्सम्यान टिक्न नसक्दा भैरहवा राम्रो खेल्दाखेल्दै पराजित भयो ।

उपाधि सँगै विराटनगरका कप्तान पारस खड्का म्यान अफ दि म्याच बने । विजेता विराटनगरले ट्रफीसहित २१ लाख पाउने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर विराटनगरले व्याटिङ रोजेको थियो । विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो ।

विराटनगरका लागि अन्सुमान राथले सार्वाधिक ४१ रन बनाएका थिए । पासर खड्काले २७ र अनिल साहले २२ रन बनाए । ईपीएलकै उच्च स्कोर बनाएका बाबर हयात भने ११ रनमै आउट भएका थिए । भैरहवाका कृष्ण कार्की र हरिशंकर साहले २–२ विकेट लिए ।