मन परे चाट्ने, नपरे काट्ने

एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठक बसिरहेको थियो । राजनीतिक मुद्दामा सहमति नभएपछि नेताहरु फूर्तिसाथ आफ्न पितापुर्खाको बखानमा उत्रिए । शेरबहादुर देउवाः भने देखिनलाई मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट फुत्त निस्कनुहुन्थो ।

केपी ओलीः तपाईंका बा के बहादुर मेरा बाको त कुरै बेग्लै । पानी ट्यांकीमा पसेका हाम्रा बा धाराको टुटीबाट पानी भएर निस्कनुहुन्थ्यो । पुष्पकमल दाहालः मने तपाईंहरुका कुरामा पटक्कै दम भएजस्तो लागेन । लौ सुन्नुस् मेरा बालाई एक पटक यस्तो भुंग्रे ज्वरो आयो कि मेरी आमा बाको गालामा हरियो मकै पोलेर हामीलाई ख्वाउनुहुन्थ्यो ।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ । तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् । तीनवटा प्राइभेट लिमिटेड पार्टीका मुखियाहरुले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षभन्दा कम रेमिट्यान्स भित्रिएको तीतो समाचार बाहिर ल्याएको छ ।

गाउँ गाउँमा सिंहदरबार पुगेको खुसीमा अविरजात्रा भइरहँदा रेमिट्यान्स वृद्धि ऋणात्मक बन्नु सुखद संकेत होइन । यसले बैंकिङ तरलता चर्किने र अर्थतन्त्रमा संकटको बादल आउने खतरा बढेको छ । हामीले चुनावमार्फत घरघरमा हजारौं केपी ओली, शेरबहादुर र प्रचण्ड त जन्मायौं तर तिनीहरुको काम, कर्तव्य र अधिकारका विषयमा निरपेक्ष रह्यौं ।

अब शक्ति संघर्षका काला बादल मडारिने क्रम शुरु हुनेछ । जनप्रतिनिधि जनअनुमोदित डन बन्ने खतरा छ । केन्द्रले क्षेत्र, क्षेत्रले जिल्ला र जिल्लाले स्थानीय निकायलाई टेर्ने छैनन । सरकारी कर्मचारीको महत्वाकांक्षा कम गराउने कुनै उपाय लगाइएन भने त्यो गोमन साँप पाल्नुसरह हुनेछ ।

त्यसैपनि ट्रेड युनियनका सटरहरुको शासन थामी साध्य छैन । स्थानीय निकायमा सरुवा भएर जाँदा पद र पैसा बढाउनुपर्ने दलाली शुरु भएकै छ । पुलिसको सिपाही नवराज सिलवालले सरकारमा नपाएको न्याय राजनीतिबाट फच्याएको प्रकरण पहिलो र अन्तिम बन्नुपर्छ ।

यो प्रवृत्ति प्रस्थान विन्दु भयो भने राजनीतिमा पन्पिएको अर्को घातक भाइरस ठहरिनेछ । प्रतिशोधको राजनीति संस्थागत हुँदाका बखत एन्टीभाइरस पाइने छैन । त्यसै पनि हाम्रो चुनावी प्रणाली पैसावालहरुको रेसलिङ बनेको तथ्य कसैबाट छिपेको छैन ।

अधिकार गाउँलाई दिनेमा सबैको सहमति भयो तर एक पातो जीवन जल किन्ने पैसाको कुरा उठ्नासाथ केन्द्र ताक्ने प्रवृत्तिमा कति पनि सुधार आउने छाँट छैन । संघ उर्जावान हुन सकेन भने त्यो लुटतन्त्रको स्टेशन बढोत्तरी मात्र हो ।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा हरेक पार्टी नेताको घोषित अघोषित योगदान छ । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर । सबैको अस्तित्व देखिने सलादको नाममा कलविख घोलिएको सुप बनाइएको छ । नेपाललाई रत्नपार्कबाट सार्वभौम देश बनाउनु अहिलेको चुनौती हो ।

सत्ता नपाएसम्म क्रान्तिकारीहरु सत्ता पाउनासाथ आज्ञाकारी हुन्छन् । प्रधानमन्त्री हुँदाताका बाबुराम भट्टराईले भनेका थिए– ‘सत्ताको साँचो त अन्तै पो रहेछ ।’ बीपी– जीपी, केपी–पीके, मनमोहन– माधवदेखि शेरबहादुर हुँदै झलनाथसम्म यस कटु सत्यका पारंगत व्यक्तित्वहरु हुन् ।

तर यो विषयलाई उनीहरुले फगतः कम्बल ओढेर घिउ खाने माध्यम मात्र बनाए । अरु त अरु कम्युनिष्ट पृष्ठभूमिका नेताहरु कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो ।

सातु खाएर जनयुद्ध लडेको गौरव गरेका तिनै नेता एकाध वर्षमै ब्ल्याक लेबल, ब्लु लेबलदेखि बटरफलाई ब्राण्डका पारखी हुन पुगे । तर सिसाको गिलासमा खायो भने हैसियत खुल्ने डरले स्टीलको गिलासमा खाएर जनताको नाममा चिसो पानी खाएको पाखण्ड ओकल्न भने उनीहरु पछि पर्दैनन् ।

मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरु आईफोनको पारखी भएका छन् । अरु त परै छाडौं एउटा सामान्य म्यासेज पढ्न र पठाउने कला पनि उनीहरुमा देखिदैन । हो देश पनि तिनीहरुका लागि त्यही मोबाइल सेटजस्तै भएको छ ।

नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए झै नेताहरुको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ । मन पर्दा तिनै नेतालाई चाटेर देवत्वकरण गरियो । मन नपर्ने वित्तिक्कै खुँडा बोकेर काट्न खोजियो ।
नेपालका अधिकांश प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसंग उभिएर फोटो खिचेका छन् ।

बेडरुमदेखि बैठकसम्म त्यो फोटो सगौरव झुण्ड्याएका छन् । अमेरिकी राष्ट्रपतिसंग फोटो खिच्ने लोभ त सबैमा पलायो तर सिक्नुपर्ने कार्यशैलीप्रति भने उनीहरु बेखबरजस्तै बने । विहान उठेका डोनाल्ड ट्रम्प मर्निङ वाक गर्दा सुरक्षा सल्लाहकार, चिया पिउँदा राजनीतिक सल्लाहकार र टेनिस खेल्दा कुटनीतिक सल्लाहकारसंग बैठक भ्याइसकेका हुन्छन् ।

विश्व चलाउने ट्रम्प यति सजिलै सवै काम सिध्याउँछन् । विडम्बना आफूले नेतृत्व गरेका दललाई गुठीमा रुपान्तरण गरेका हाम्रा नेताहरु बैठकलाई घरको माना बचाउने र जीब्रो भिजाउने मौकाका रुपमा हेर्ने गर्छन । सहमतिका नाममा पल्टाइने गरेको गाई र त्रिशुलको अन्तरकथा पनि यही नै हो ।

माओ कि ट्रम्प ?

यसो भनेर गाई त्रिशुल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरुको रोजाई ट्रम्प पर्नेमा शंका छैन् । कार्यकर्ताहरुलाई माक्र्स, लेनिन, ख्रुश्चेभदेखि माओ चालिसासम्म कण्ठ गराएका नेताहरुका लागि युरोप अमेरिका बाहेक अरु मुलुक अछुतजस्तै हुने गरेका छन् ।

नेताहरुले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्यूवा र चिनियाँ सांस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, स्वीटजरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् । त्यसैले त इमान्दार कम्युनिष्टहरु यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् ।

अमेरिकाको विरोध नगरे जात जाने दर्शन बोकेका दर्जनौ माओवादी कार्यकर्ताहरुले अमेरिकी नागरिक हुन आफूनै पार्टीले दुख दिएर अमेरिका भास्सिनु परेको व्यहोरामा ल्याप्चे लगाएर अमेरिकी अदालतमा कागजात पेश गर्ने गरेका छन् ।

अब नेपालको कम्युनिष्ट नेतृत्वले फेसबुकका मार्क जुकरबर्ग, आइफोनका स्टीभ जब्स, कम्प्युटरका पिता चाल्र्स बाबेजलाई नेता मान्नुपर्छ । यी यस्ता आविष्कारक हुन, जसले अमेरिकी राष्ट्रपति र नेपालको एउटा सामान्य नागरिकलाई पोष्टमा समान सुविधा दिएका हुन्छन् ।

आखिर सवैलाई समान आँखाले हेर्नु कम्युनिष्ट समाजवादी हेराइ होइन र ? यदि यसो नभएको भए सवै जनता रोटीको हकदार नभएसम्म केक काटन नपाइने उर्दी लेनिनले किन लगाउँदा हुन ? सबै मजदुरले चिनी हालेको चिया नपाएसम्म आफू पनि खल्लो चियामा डल्लिने इच्छाशक्ति कहाँबाट पलाउँथ्यो र ? संसार कुन गतिमा अघि बढिरहेको छ ?

अबको विकास मोडल कस्तो हुनुपर्छ ? नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ ? यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको संख्या पुरै शून्य छ । देशको कार्यकारी पदमा पुग्नेहरु लंगुरबुर्जा सञ्चालकजस्ता भएका छन् ।

जसको एउटै ध्याउन्न हुन्छ– दायाँ बायाँ हेर्ने अनि जतिसक्दो सोहोरेर सुईंकुच्चा ठोक्ने । राजनीतिलाई जुवाको खाल ठानेर दाउ लगाउनेहरुको संख्या अहिले विचित्रसंग बढेको छ । समावेशीका नाममा एकाध दर्जन मानिस भएका पार्टीका कमजोर मानिसलाई मन्त्री बनाएर राज्यका निकायलाई होलसेलमै दलालीको अखडा बनाउने सुनियोजित अभ्यास भइरहेको छ ।

संयोगवस एउटा प्राविधिक व्यक्ति देशको प्रधानमन्त्री भएकाले होला प्रतिशतमा मिलाउनेहरुको जताततै बिगबिगी देखिन्छ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु प्राविधिकहरुको भ्रष्ट शैलीबाट यति आजित भएछन् कि ईन्जिनीयरको सम्मेलनमा थोरै मात्र खाइदिनुस् भने क्वाँ क्वाँ रोएका थिए रे !

राजनीति इमान्दारी र नैतिकतामा फल्छ, फुल्छ । नेता पारदर्शी हुन्छ भने हाकिम अपारदर्शी । नेताले समन्वय गर्छ भने हाकिमले तोकादेश गर्छ । यदि नेता हौसिएर हाकिम हुन खोज्यो भने उ त खरानी हुन्छ नै, देश पनि अवन्नतिको पातालमा भासिन्छ ।

यदि यो देशमा नैतिकवान राजनीतिज्ञ थिए भने उनीहरुले टाईसुट त के लाज छोप्न बुर्का लगाउनुपर्ने अवस्था छ । तृतीयांश बजेटले मुलुकको अर्थतन्त्र धानिरहेको यो बेला कृषिप्रधान देशका अर्थशास्त्रीहरु २५ अरब बढी रुपैयाँको चामल भारतबाट आयात भएको तथ्यांक पढिरहेका छन् ।

देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन । राज्यले जन्मिएका मात्र होइन, दशकौं पछि जन्मिनेहरुको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ । धुलिमाटीबाट क, ख सिकेका देखि आईफोन संस्कृतिमा हुर्किएका सम्मले स्वतन्त्रतापूर्वक खेल्न, बढ्न पाउनु पर्छ ।

निष्ठा र इमान्दारीको राजनीति गर्नेहरु देउता समान हुन्छन् भन्ने नेल्शन मण्डेला र महात्मा गान्धीको इतिहास घोकेकाहरुलाई खोई कुन भामरीले छोपेर हो कुन्नि अक्करको बाटो मात्र रुचाउँछन् । कस्ता कस्ता चक्रवर्ती महाराजले त समयलाई आफ्नो कैदमा लिन सकेनन् भने हाम्रा नेताहरुले जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बचपना सिवाय केही होइन ।

मानिस भनेको प्रकृतिको निरन्तरता मात्र हो । सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको विगार्ने अधिकार पनि उसलाई छैन् । यो सत्यलाई राजनीति गर्नेहरुले किलकिलेमा राख्नुपर्छ । पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ ।

जब पोखरीको पानी सुक्छ नि, त्यही नपत्याउने कमिलाले माछा सिध्याउँछ । पर्खन सक्नुपर्छ पालो सवैको आउँछ । सत्तालाई पनि शिकारको बिलो ठानियो भने हविगत उही दोहोरिन्छ । पात खाइयो भने त अर्को वर्ष पिपिरा पिपिरी पलाउला तर जरै ढालियो भने त न रहे बाँस, न बजे बाँसुरी हुन बेर लाग्दैन । हिमालय टिभी डटकमबाट