पूर्वफुटबलर जर्ज वेह लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी,अफ्रिकी मुलुक लाईबेरियाको राष्ट्रपतिमा पूर्वफुटबलर जर्ज वेह निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि गत मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भएका हुन् । वेहले झण्डै ६० प्रतिशत मत ल्याएको बताईएको छ ।

यसअघि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा बहुमत मतदाताले पूर्व फुटबलर वेहलाई साथ दिएका हुन् ।

वेह स्थिर र प्रजातान्त्रिक राजनीतिक संस्कार विकास गर्ने नारासहित चुनावमा होमिएका थिए । लाईबेरियामा शक्ति हस्तान्तरण निकै कठिन हुने गरे पनि यसपटक भने सहज हुने अनुमान गरिएको छ । तर वेहको निर्वाचन अभियान पनि विवादरहित भने थिएन ।

वेहको तर्फबाट उपराष्ट्रपतिमा लडेकी जेवेल टेलर लाईबेरियाको राजनीतिमा विवादित पात्र हुन् । उनका पूर्वश्रीमान् एवं पूर्वराष्ट्रपति चाल्र्स टेलर युद्ध अपराधको कसुरमा हाल ५० वर्षको जेल सजाय काटिरहेका छन् ।

सन् २००२ सम्म सक्रिय फुटबल खेलाडी रहेका वेहले युरोपका चर्चित फुटबल क्लवहरु चेल्सी, एसी मिलान, म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेनलगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । आफ्नो जमानाका निकै सफल खेलाडी वेह फिफा वल्र्ड प्लेयर अफ द ईयर र बलुन डे ओर दुबै उपाधि जित्ने एकमात्र अफ्रिकन खेलाडी हुन् ।