चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्रद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ती

 स्छुवान, चीन ।अन्तर्राष्ट्रिय आदान प्रदानको लागि चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्र र अरनिको समाजबीच शैक्षिक तथा साँस्कृतिक सहयोग सम्बन्धि सझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमवार सम्पन्न समझदारी पत्रमा अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठ र अन्तर्राष्ट्रिय आदान प्रदानको लागि चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्रका उपमहानिर्देशक वाङ लासाले हस्ताक्षर गर्नुभएको हो ।

समझदारी पत्रमा नेपालको शिक्षाको आवश्यकता र स्छुवान प्रान्तले उपलब्ध गराउने छात्रवृत्ति बीच तादाम्य मिलाउने, विभिन्न विषय तथा विभिन्न शैक्षिक स्तरमा छात्रवृत्ति प्रदान गर्ने, व्यावसायीक तालिमहरुको आयोजना गर्ने, नेपालमा शैक्षिक मेला गर्न ईच्छुक स्छुवान प्रान्तका विश्व विद्यालयहरुलाई अरनिको समाजले मेला व्यवस्थापनमा विभिन्न सहयोगहरु उपलब्ध गराउने लगायतका वुदाहरु रहेका छन् ।

हस्ताक्षर समारोहमा अन्तर्राष्ट्रिय आदान प्रदानको लागि चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्रका उपमहानिर्देशक वाङ लासाले स्छुवान प्रान्तको शैक्षिक विकासको बारेमा प्रकाश पार्दै स्छुवान प्रान्तस्थित विभिन्न विश्व विद्यालयहरुमा हाल ३ सय जना नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेको जानकारी दिनुभयो । साथै उपमहानिर्देशक वाङले आगामी दिनहरुमा दुई संस्थाहरुवीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा स्छुवान प्रान्तिय शिक्षा विभागका उपमहानिर्देशक फङ यी ले नेपाल र चीनवीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न अरनिको समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले स्थापना कालदेखि नै अरनिको समाजले चीन सरकारसँगको समन्वयमा नेपाली जनतालाई सेवा पुग्ने काम गरिरहेको जानकारी दिनुभयो । साथै अध्यक्ष श्रेष्ठले दुवै संस्थाहरुवीच सम्पन्न समझदारीले भविष्यमा दुई मुलुकवीचको सहयोग आदान प्रदानमा वल पुग्ने बताउनु भयो । अरनिको समाजको पहल तथा चीनको स्छुवान प्रान्तिय सरकारको सहयोगमा उपलब्ध भएको छात्रवत्ति अन्तरगत हाल यस प्रान्तका ६ वटा विश्व विद्यालयहरुमा ४२ जना नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

यसैगरी अरनिको समाज र स्छुवान प्रान्त गैर सरकारी संस्थाहरुको वैदेशिक आदान प्रदान प्रवद्र्धन प्रतिष्ठानवीच आपसी सहयोग तथा सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  सोमवार सम्पन्न सो समझदारी पत्रमा प्रतिष्ठानले नेपालमा आयोजना गर्ने कुनै पनि कार्यक्रम अरनिको समाज मार्फत मात्र गर्ने, सछुवान प्रान्तबाट कुनै पनि कार्यटोली नेपाल जाँदा सो को स्वागत सत्कार, दोभाषेको व्यवस्थापन लगायतका विषयमा अरनिको समाजले सहयोग प्रदान गर्ने, दुवै संस्थावीच सहकार्य गर्न सकिने विषय र क्षेत्रको वारेमा विचार विमर्श गर्ने, निःशुल्क स्वास्थ्य सेवा, जनस्तरीय सम्वाद, सेमिनार, कृषी, चिकित्सा, सञ्चार, पत्रकारीता आदि विषयमा तालिम तथा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, महिला तथा यूवाहरुवीच भ्रमण आदान प्रदान गर्ने र सम्भव भए सम्म सन् २०१८ को जनवरी महिना भित्रमै समझदारी पत्रमा उल्लेखित विषयहरुको बारेमा आपसी सरसल्लाह गरि कार्यक्रम बनाउने कुरा उल्लेख गरिएको छ ।

समझदारी पत्रमा अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठ र स्छुवान प्रान्त गैर सरकारी संस्थाहरुको वैदेशिक आदान प्रदान प्रवद्र्धन प्रतिष्ठानका उपमहानिर्देशक चाङ थाओले हस्ताक्षर गर्नुभएको हो ।  हस्ताक्षर समारोहमा प्रतिष्ठानका उपमहानिर्देशक चाङ थाओले अरनिको समाजले दुई मुलुकवीचको सम्बन्ध विस्तारमा पुर्याएको योगदानको उच्च मूल्याङकन गर्दै नेपाललाई आवश्यक सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको र भविष्यमा अझ बढि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल र स्छुवानको आपसी मित्रता र सहयोग आदान प्रदान विशिष्ट रहेको उपमहानिर्देशक चाङले प्रष्ट पार्नुभयो ।