मुख्यमन्त्रीका लागि एमाले-माओवादी नेता आन्तरिक लबिङमा

निर्वाचन आयोगले प्रदेश सभामा दलहरूले जितेको सिट संख्या टुंग्याएलगत्तै मुख्यमन्त्रीका दाबेदार नेताहरूले आन्तरिक ‘लबिङ’ सुरु गरेका छन् । सातवटा प्रदेशमध्ये प्रदेश २ बाहेकमा वाम गठबन्धनको स्पष्ट बहुमत आएपछि ती दलबाट मुख्यमन्त्रीका आकांक्षीले ‘लबिङ’ तीव्र बनाएका हुन् ।

सरकारले निर्धारण गरेको वरीयतामा केन्द्र सरकारको उपप्रधानमन्त्रीसरहको मर्यादा रहने मुख्यमन्त्री प्रदेश सरकार प्रमुख हुनेछ ।

शक्तिशाली र आकर्षक पद भएका कारण प्रदेश सभामा निर्वाचित एमाले र माओवादी केन्द्रका ‘हेभिवेट’ नेताहरूले सार्वजनिक रूपमै आफूलाई दाबेदारका रूपमा उभ्याएका छन् । अहिलेसम्म दुई दर्जन नेता यो दौडको अग्रपंक्तिमा छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

पाँच प्रदेशमा एमाले, दुईमा माओवादीको दाबी

वाम गठबन्धनको ठूलो दल एमालेले पाँच र माओवादी केन्द्रले दुई प्रदेशमा दाबी प्रस्तुत गरेका छन् । जसअनुसार एमालेले १, ३, ४, ५ र ७ तथा माओवादी केन्द्रले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेश नम्बर १ र ३ मा एमालेले एकल सरकार गठन गर्न सक्ने गरी बहुमत प्राप्त गरेको छ । २ नम्बरबाहेक बाँकी प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी ६ वटै प्रदेशमा तेस्रो स्थानमा छ ।