उपेन्द्र यादव भन्छन- ‘यसकारण ओलीसँग सत्तामा जाँदैनौं’

अब गठन हुने एमाले नेतृत्वको सरकारसँग संघीय फोरम नजाने भएको स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसीप्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा गरेको बताएका थिए ।

आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । संघीय फोरमका वरिष्ठ नेता अशोक राईले जनताको ताजा जनादेशले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको अवस्थामा ओली र यादवबीच भेट हुनु स्वाभाविक रहेको बताए ।

‘ताजा जनादेशले पाँचवटा दललाई विशेष जिम्मेवारी दिएकाले उनीहरूको सहमतिमा देश अघि बढ्नु पर्छ’, उनले भने, ‘सत्तामा बस्ने मात्र नभएर प्रतिपक्षमा बस्ने पनि सत्ताकै अंग हुने हुँंदा एमाले अध्यक्षसँगको भेटलाई सत्ता भागबण्डाका रूपमा नबुझौं । संघीय फोरम अहिले सत्तामा जाँंदैन ।’

संघीय फोरम अपेक्षाअनुसार विजयी हुन नसके पनि आगामी दिनमा सिंहदरबारबाट ‘लादिने नीति÷निर्णय’ विरुद्ध हस्तक्षेपकारी भूमिका खेल्न सक्ने अवस्थामा पुर्‍याएकोमा उनले मतदातालाई धन्यवाद दिए । उनले आगामी साता कार्यसम्पादन समिति र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको भावी रणनीति प्रष्ट पार्ने जानकारी दिए ।