राजेन्द्र महताे भन्छन- फेरि सडक जाम गर्छौं, सदनमा कुर्सी तोड्‍छौं

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले मधेशको अधिकार प्राप्तिका लागि सडक र सदन दुबै तताउने बताएका छन् । मधेशी जनताले आफुलाई विश्वास गरेर जिताएको भन्दै नेता महतोले संविधान संसोधन र अन्य मुद्धामा आनाकानी गरे प्रदेशसभा र प्रतिनिधिसभाका कुर्सी तोड्ने बताए ।

मधेशी कानून व्यवसायी समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा नेता महतोले आफ्नो अधिकार प्राप्तीका लागि मधेशी जनताले आन्दोलन जारी राख्ने बताए । नेपालमा बस्ने सबै जातजाती, भाषाभाषीले अपनत्वको अनुभूति गरे मात्रै नेपाल समृद्ध हुने बताउदै उनले भने, ‘जबसम्म मधेश र मधेशीले अधिकार प्राप्त गर्दैनन् तबसम्म जय नेपालको नभई जय मधेशको नारा लगाईरहने छौँ ।’

कार्यक्रममा धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले चुनावमा धनुषा प्रशासनले दलको भातृसंगठनको रुपमा काम गरेको आरोप लगाए । नेता अरगरियाले भ्रष्टाचारमुक्त जिल्लाको रुपमा धनुषालाई विकास गर्ने बताए ।