यसरी वन कार्यालयले सुकुम्बासीको उठिबास लगायो

जिल्लामा सुकुम्बासीको घर टहरा हटाउन सुरु गरिको छ । जाजरकोटको सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो । विभिन्‍न समयमा सुकुम्बासीहरुले घरटहरा बनाएर बसेका थिए । उनीहरुलाई विना विकल्प जिल्ला वन कार्यलयले आफै हटाउन शुरु गरेको छ । यसअघि कार्यालयले हट्न सूचना जारी गरेको थियो ।

वन कार्यालयले बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै ३०० घरटहरा हटाउन लागेको हो । सुकुम्बासीको नाममा घर भएको व्यक्तिहरुले सार्वजनिक जग्गा अतिक्रमण गरेको वन कार्यालयको दाबी छ ।

पहिलो चरणमा मंगलबारदेखि बजारको मुख्य स्थान भेरी नगरपालिका–३ को थाप्लेचौरमा निर्माण गरिएका टहरा हटाउन थालिएको हो । अतिक्रमण गरी निर्माण गरिएका संरचना आफैँ हटाउन फेरि पनि एकपटक सूचना जारी गर्ने र त्यसको अटेर गरे वन कार्यालयले आफैँ हटाई अतिक्रमणकारीलाई वन ऐनअनुसार कारबाही गर्ने वन अधिकृत पटेलले बताए ।

सूचनाको अटेर गरी बजारको मुख्य चोकमै घर निर्माण कार्य थालेकी एक महिलालाई पक्राउ गरिएको छ । भेरी नगरपालिकाले समेत अतिक्रमित घरटहरा हटाउन सूचना जारी गरेको छ । नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार जिल्ला वन कार्यालयसँग समन्वय गरेर नगर क्षेत्रभित्रका अतिक्रमण गरी बनाएका सबै घरटहरा हटाइने छ ।