म्यादी प्रहरीमाथि लाग्यो किशोरी बलात्कार गरेको आरोप

बाँकेको नरैनापुर-५ मटेहियामा १४ वर्षीया एक किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको खुलासा भएको हो ।इलाका प्रहरी कार्यालय भन्दा करिब ३ किलोमिटर उत्तर पूर्वमा गस्तीमा गएको बेलामा सो घटना भएको जनाइएको छ ।

किशोरी कराएपछि उद्धार गर्न पुगेका गाउँलेहरुले म्यादी प्रहरी टेकबहादुर बिकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घटनामा संलग्न बाँकी २ जना म्यादी भने फरार भएको बताइएको छ ।

सोमबार साँझको घटना भएपनि स्थानीयस्तर मै घटना मिलाउने प्रयास सफल नभएको र विवाद सुरु भएपछि पीडित र पीडकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके झिकाइएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङ्गले जानकारी दिए ।उनले पीडित किशोरीलाई नेपालगञ्ज ल्याई स्वास्थ्य परीक्षण गरी पीडक माथि अनुसन्धान सुरु गरेको जनाए । पीडित किशोरीको मानसिक अवस्था विक्षिप्त रहेको गाउँलेले जनाएका छन् ।