ग्यास कम्पनी आगलागी २ को मृत्यु, तीन घाइते

घटनाको अनुसन्धान गर्न ५ सदस्यीय छानविन समिति गठन

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगोबाट दुईको मृत्यु भएको छ । तीन घाइते भएका छन् भने केही हराइरहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । आगो निभाउन गएको एक बारुणयन्त्र समेत जलेको छ । आगलागी भएसँगै त्यहाँ पुगेको बीरगन्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गरेको थियो तर आगो निभाउन गएका कर्मचारीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । फायरम्यान सञ्जीत नेपाल र चालक अरुणकुमार महतो गम्भीर घाइते भएका छन् ।

उनीहरुको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । निभाउने क्रममा घाइते भएका दमकल चालक अरुणकुमार महतो र अग्निनियन्त्रक सञ्जीवकुमार नेपाललाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते मध्ये महतोको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने नेपाललाई चिकित्सकले थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरेको छ ।

बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै छ ।

यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वारुणयन्त्र मगाइएको छ । जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ । यता एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । ग्यास उद्योगमा भएको आगलागीको छानविन गर्न संघले ५ सदस्यी छानविन टोली गठन गरेको हो । समितिमा शिव प्रसाद घिमिरे, कुश प्रसमद मल्ली, विजयहरी शर्मा रहेका छन् । त्यसैगरि मनोज कुमार दास, र राज कुमार सिन्धी समेत रहेका छन् ।