अचानक रसुवागढी पुगेर यस्ताे भने ओलीले

अब रसुवागढीबाटै रेल र केबलकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको नाका रसुवाढी र पर्यटकीयस्थल लाङटाङ पुगेका छन् ।एमालेका केही शीर्ष नेताहरुसहित रसुवा पुगेका ओलीले २०७३ वैशाखको भूकम्पबाट क्षतिग्रस्त लाङटाङका स्थानीयबासीसँग अन्तरक्रिया पनि गरेका छन् । ओलीले लाङटाङपछि ओली टिमुरेस्थित रसुवागढी नाकामा पुगेर त्यहाँको पूर्वाधारको पनि अवलोकन गरेका छन् ।

लाङटाङ पुगेर के भने ?

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि करिब ध्वस्त भएको पर्यटकीय केन्द्र लाङटाङ पुगेर ओलीले त्यहाँको पछिल्लो अवस्थाको अवलोकनसँगै स्थानीयबासीसँग अन्तरक्रिया पनि गरेका छन् । हेलिकोप्टरबाट बिहान ९ बजे लाङटाङमा ओर्लिएका उनले भूकम्पका कारण त्यहाँ भएको क्षति तथा पुनर्निर्माणको अवस्थाबारे पनि बुझेका छन् । भूकम्पपछि लाङटाङमा आएको हिमपहिरोमा परेर १७४ जना नेपालीसहित र अन्य विदेशी पर्यटकसहित कम्तिमा पनि ५ सयजनाको मृत्यु भएको थियो ।

‘भूकम्पपछि पुनःस्थापना हुन नसक्दा लाङटाङबासी अझै पीडामा रहेछन्’, ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘भूकम्पले भत्केका स्कुल र स्वास्थ्य चौकी पनि पुननिर्माण नहुँदा स्थानीयबासीले सास्ती भोग्नु परेको रहेछ ।’ स्वास्थ्य र शिक्षाका संरचना पुननिर्माणमा ढिलाई हुँदा स्थानीयले पाएको सास्तीबारे बुझेपछि ओलीले तत्काल ती संरचना बनाउन पहल गरिने आश्वासन दिएका छन् ।

‘कक्षा ५ सम्म पढाई हुने स्कुलको पुननिर्माण भएकै रहेनछ । स्वास्थ्य चौकी भवन पनि पुननिर्माण हुन नसक्दा स्थानीय आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित भएको देखेर अध्यक्षले तत्काल पुनःनिर्माणको पहल गर्ने आश्वासन दिनुभएको छ’, अधिकारीले भने, ‘एमालेकै धेरै नेता कार्यकर्ता पनि लाङटाङको हिमपहिरोमा परेका रहेछन्, उनीहरुका परिवारलाई पनि पुनःनिर्माण र पुनःस्थापनाको बचन दिनुभएको छ ।’

रसुवागढी पुगेर के गरे ?

लाङटाङपछि हेलिकोप्टरबाटै टिमुरेस्थित रसुवागढी नाकामा ओर्लिएका ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमण स्मरण गर्दैै अब पूर्वाधार निर्माण तीब्र पारिने बताए । टिमुरेमा स्थानीयबासीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केरुङ नाकाको स्तरवृद्धि गरी अन्तराष्ट्रिय नााका बनाउने बचन दिए । रसुवागढी नाकास्थित भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले दुई वर्षभित्र त्यहाँ डबल लेनको सडक बनाउने पनि बचन दिए ।

‘यो नाका जाने सडकलाई २ वर्षभित्रै डबल लेनको बनाउने बचन ओलीले दिनुभएको छ’, अधिकारीले ओलीको भनाई उधृत गर्दै भने, ‘खोलावारी खोलापारी दुवैतर्फ दुई लेनको सडक बनाएर काठमाडौँलाई सडकमार्गबाट सहजरुपमा जोड्ने काम हुनेछ ।’

अध्यक्ष ओलीले यही नाका हुँदै चीनको बन्दरगाहबाट नेपालले आयात निर्यात गर्ने सहमति भइसकेकाले यस नाकाको विकासमा कुनै कञ्जुस्याईँ नहुने बचन पनि दिए । ओलीले टिमुरेमा चिलिमे हाइड्रो पावर र रसुवागढी हाइड्रो पावरको निर्माणको अवस्थाबारे पनि चासो व्यक्त गर्दै निर्माणलाई तीब्र पार्न सुझाए ।

रसुवागढीबाटै रेल र केबलकार

चीनको तिब्बत हुँदै काठमाडौँसम्म यही नाकाबाट रेल सेवा निर्माणको प्रक्रिया अघि बढिसकेको कुरा पनि ओलीले बताए । ‘यही नाकाबाट हामी नेपालसम्म चीनको रेल लैजान्छौँ’, ओलीले भने, ‘जटिल भूगोल भएकाले यहाँ केबुलकार पनि चलाउने प्रक्रिया अघि बढिसकेको छ ।’ टिमुरेमा सम्बोधनका क्रममा ओलीले त्यहाँस्थित स्वास्थ्य चौकी पनि स्तरोन्नति गर्ने प्रतिवद्धता जनाए । त्यसक्रममा स्थानीयबासीसँग ओलीले यो नाकालाई मानसरोबर जाने मार्गका रुपमा विकास गर्न माग गरेका छन् ।

ओलीले राष्ट्रिय विभूती भृकुटीले करिब १५-१६ सय वर्ष अघि बिहे गरेर यही नाकाबाट गएको बताउँदै अहिले रेल पनि यहीँबाट नेपालसम्म जाने उल्लेख गरे । अध्यक्ष ओलीसँगै एमालेका महासचिव इश्वर पोखरेल, नेताहरु शंकर पोखरेल, सुवास नेम्बाङ र विष्णु पौडेलसहित रसुवा पुगेका थिए । अन्नपुर्णबाट