फिल्मी शैलीमा लुट्न खोज्ने गिराेह प्रहरीको फन्दामा

गत मंसिर २५ गते इलाममा ३ थान बेवारिसे पेस्तोल फेला परेको घटनामा फिल्मी शैलीमा योजनाबद्ध रुपमा २ करोड ५७ लाख ५८ हजार रकम लुट्न खोजिएको खुलेको छ । इलाम नगरपालिका ८ तिल्केनीमा बेवारिसे अवस्थामा हतियार फेला परेपछि प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतको कमान्डमा खटिएको टोलीले अनुसन्धानको क्रममा फिल्मी शैलीमा लुट्न खोज्ने ६ जनालाई पक्राउ गरेको छ ।

घटनामा प्रयोग भएको ३ थान इन्डियन पेस्तोल, ८ राउन्ड गोलीसहित घटनाका मुख्य योजनाकार पाँचथर फल्गुनन्द गाउँपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय राजवहादुर तामाङ र उनको बहिनी ज्वाँइको घरबाट ९० लाख १० हजार बरामद गरिएको इलामका प्रहरी प्रमुख विपिन कुमार कर्माचार्यले जानकारी दिए ।

घटनामा संलग्न रहेका मुख्य नाइके तामाङसहित फिदिम नगरपालिका १० बस्ने ३३ वर्षका भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका ८ बस्ने ५४ वर्षीय महेन्द्र कुमार दर्जी, फाल्गुन्नद गाउँपालिका ४ का ४४ वर्षीय रुद्रकुमार नेम्वाङ र फाल्गुनन्द गाउँपालिका ६ का ६० वर्षीय योगेन्द्र प्रसाद आङ्दाम्वे इलाम बजारबाट पक्राउ परेका हुन् ।

सोही घटनामा संलग्न विर्तामोडका योगेश राईलाई पनि झापा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख कर्माचार्यले बताए । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार राजबहादुर तामाङले योजनाबद्ध तरीकाले आफूसँंग बहुमुल्य बल्ने पत्थर छ भनि पाँचथरका राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ला ढुंगानालाई सस्तोमा बेच्ने बताएका थिए । तामाङले खरिदकर्ताहरुसँग ६० लाख पर्ने जग्गासमेत लिएको र २ करोड ५७ लाख ५८ हजार रुपैयाँ लिएर बहुमुल्य पत्थर लेनदेन गर्न मंसिर २५ गते राती इलामको तिल्केनीमा बोलाएका थिए ।

सोहि दिन राती तिल्केनीमा उक्त रत्न लिन खरिदकर्ताहरु राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ला ढुंगानालाई बोलाई उनीहरुले रत्न खरिद गर्न ल्याएको रकम २ करोड ५७ लाख ५८ हजार रुपैयाँ लुट्नको लागि आफ्ना साथीहरु भयप्रसाद विक, महेन्द्र कुमार दर्जी, रुद्रकुमार नेम्वाङ र योगेन्द्र प्रसाद आङ्दाम्वेलाई घरबाट ३ थान पेस्तोल दिइ बोलाएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख कर्माचार्यले बताए ।

मुख्य योजनाकार तामाङले उक्त रकम लुट्न आफ्नै साथीहरुलाई हतियारसहित बोलाएको र खरिदकर्ताहरुको अगाडी लुटिएको देखाउनको लागि उक्त बहुमुल्य पत्थर छ भनि योजना बनाएको अनुसन्धानबाट खुलेको हो ।