निर्वाचनको मतपरिणाम आइसके पनि नयाँ सरकार गठनमा विवादमा

प्रतिनिधिसभा सदस्य चयनका लागि समानुपातिक मतगणना अन्तिम चरणमा रहे पनि नयाँ सरकार गठन हुने विवाद बढेको छ । प्रधानमन्त्री चयन संसद्को बैठक बस्नुअघि बहुमत पुर्याएपछि हुन सक्ने र प्रतिनिधिसभाको बैठकले मात्रै प्रधानमन्त्री चयन गर्न सक्ने दुई थरी मत आएपछि कहिले नयाँ सरकार गठन हुन्छ भन्ने अन्योल बढेको हो ।

राष्ट्रिय सभाको निर्वाचन बहुमतीय वा एकल संक्रमणीय मत प्रणालीअनुसार गर्ने भन्नेमा विवादले सरकार गठन अलमलमा देखिएको छ । सरकारले पठाएको अध्यादेश दुई महिनादेखि राष्ट्रपतिकहाँ अल्झिएको छ । अघिल्लो व्यवस्थापिका संसदमा राजनीतिक सहमति नजुटेपछि सरकारले अध्यादेश ल्याएर स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । तर धारा ८३ मा लेखिएको विषयका कारण कानूनविद्हरुबीच राय बाँझिएपछि सरकार गठन प्रक्रिया अलमलमा देखएको छ ।