वाम गठबन्धनलाई दुई तिहाइ

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार राति ११ बजेसम्म १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ। घोषित परिणामअनुसार एमाले-माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन्। एमालेले सबैभन्दा बढी ७६ र माओवादीले ३६ गरी कुल १ सय १२ स्थान जितेका हुन् ।

त्यसैगरी, कांग्रेसले २१, संघीय समाजवादी फोरमले १० र राजपाले १० स्थानमा जित हात पारेका छन्। नयाँशक्ति, राजमो, नेमकिपा र राप्रपाले एक-एक स्थानमा जित निकालेका छन् भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। अब ७ स्थानको मात्रै नतिजा आउन बाँकी छ। नतिजा आउन बाँकीमध्ये पाँच स्थानमा एमाले र दुई स्थानमा राजपाको अग्रता छ।

३ सय ३० सिटको प्रदेशसभामा भने वाम गठबन्धनले २ सय २७ र कांग्रेसले ३९ स्थान जितेका छन्। त्यसैगरी, संघीय समाजवादी फोरम नेपाल २२, राष्ट्रिय जनता पार्टी नेपाल १५, राष्ट्रिय जनमोर्चा नेपाल २, नयाँ शक्ति २, नेमकिपा १ र स्वतन्त्र २ सिटमा विजयी भएका छन्। अन्य क्षेत्रको मत गणना जारी छ। यो खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ ।