यसरी भारतीय प्याज वीरगन्जमा, तस्करीमार्फत नेपाल भित्रिन्छ

भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक रु १५ लाखभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगन्ज बजारमा भित्रिने गरेको छ । अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन् ।

प्याजको लागि मुख्य मन्डी मीनाबजार हो । यहाँ करिब १५ जना थोक व्यापारी छन् । यहाँबाट प्याज पोखरा, काठमाडौं, नारायणघाटलगायत क्षेत्रमा बिक्री गरिन्छ । वीरगन्जमा प्याजको मूल्य प्रतिकिलो रु ७२ पर्छ । यहाँका व्यापारीले प्याज खुद्रामा प्रतिकिलो रु १०० मा बिक्री गर्दैआएका छन् ।

चालु आवको पहिलो चौमासिकमा वीरगन्ज नाकाभएर रु १२ करोड ९३ लाख ६ हजार मूल्य बराबरको ४० लाख १० हजार ८ किलो प्याज भारतबाट नेपाल भित्रिएको वीरगन्ज भन्सारका सूचना अधिकारी संतोष यादवले बताए । यस क्रममा रु ६५ लाख ६८ हजार राजस्व संकलन भएको छ । भारतीय बजारबाट दजनौं नाका भएर अहिले व्यापारी भारतीय प्याज तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् ।