भिम रावल भन्छन्-अब ज्योतिषीमा विश्वास गर्नेका दिन सकिए

नेकपा एमालेका उपाध्यक्ष एवं अछाम क्षेत्र नम्बर–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य भीम रावलले अब विधिको शासन र लोकतन्त्रको संस्थागत विकासमा लागिपर्ने बताएका छन् । सोमबार अछाम सदरमुकाम मंगलसेनमा आयोजित विजयीसभालाई सम्बोधन गर्दै रावलले जनताले कम्युनिष्टप्रति गरेको विश्वास र भरोसालाई कमजोर हुन नदिने बताए ।

वाम गठबन्धनको विजयसँगै अब बन्ने नयाँ सरकारले देशको विकास र आर्थिक समृद्धिलाई तीव्रगतिमा अघि बढाउने उनको भनाइ थियो । देशको साझा सवाल र जनताका समस्यालाई समाधान गर्नका लागि जनताले वामपन्थी दललाई विजयी गराएको रावलले बताए । अछामका सबै ६ ओटै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भइसकेपछि गरिएको विजयीसभामा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यंग्य गर्दै रावलले ‘ज्योतिषीमा विश्वास गर्नेका दिन अब सकिएको’ बताए ।

वामपन्थीको सरकार बनेपछि सडक, पुल, विमानस्थल, जलविद्युत् आयोजना, अस्पताललगायत निर्माण गरेर जनतालाई खुसी दिने भन्दै उनले कसैले पनि रुन नपर्ने बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र विपक्षी दल र पराजित उम्मेदवारसँग पनि सहकार्य गरी अघि बढ्न तयार रहेको उनले उल्लेख गरे । विजयीसभामा अछाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी यज्ञ बोगटी, प्रदेशसभा सदस्य विजयी माओवादी केन्द्रका नेता झपट बोहरा, अक्कल रावल, एमाले नेता हर्कबहादुर कुँवर, बलबहादुर सोडारीलगायतले बोलेका थिए ।