मौन अवधिभर उजुरीको चाङ

विराटनगर ,मौन अवधिमै सबैभन्दा धेरै आचारसंहिता उल्लंघनका उजुरी परेका छन्। निर्वाचन कार्यालयमा उजुरीको चाङ नै लागेको छ। राजनीतिक सभा, सार्वजनिक छलफल र राजनीतिक कार्यक्रम गर्न नहुने भए पनि त्यसलाई निरन्तरता दिएको उजुरीमाथि क्षेत्रीय निर्वाचन कार्यालयले छानबिन थालेको छ।

विराटनगर महानगरपालिकानजिकै पार्टी प्यालेसमा मंगलबार एक मुख्य दलले सभा गरेको अडियो-भिजुअलसहित निर्वाचन कार्यालयमा उजुरी परेको छ। स्पष्टीकरण लिँदा उक्त पार्टीका निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण मात्र भएको भन्ने जानकारी आएको क्षेत्रीय निर्वाचन प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए। भने, ‘हामीलाई प्राप्त भएको उजुरीका आधारमा छानबिन र स्पष्टीकरण लिँदा त्यो कार्यक्रम राजनीतिक सभा नभएको भन्ने थाहा भयो।’

कानेपोखरी गाउँपालिका-३ को कामत माझीटोलमा जेसीभीसमेत परिचालन गरी विकास निर्माणअन्तर्गत सडक निर्माण हुँदै गरेको, सोही वडाको सामाजिक प्राथमिक विद्यालयनजिक पनि सडककै काम हुँदै गरेको, सुन्दरहरैंचा नगरपालिका-५ मा बिजुलीको पोल गाड्ने काम भइरहेको अनि विराटनगर-४ को कञ्चनबारीमा एक ठूला दलका कार्यकर्ताले तुल-ब्यानर राख्ने काम गर्दै आएको भन्ने उजुरी निर्वाचन कार्यालयमा सोमबार साँझ र मंगलबार परेका थिए।

‘मौन अवधिमा एक दलले गरेको आचारसंहिताविपरीतको कामको उजुरी अर्को दलबाट हुने गरेको छ’, उनले भने, ‘सर्वसाधारणले पनि टेलिफोन तथा लिखित रूपमा उजुरी गर्दै आएका छन्।’ विराटनगरको गुद्रीबजारमा एक उम्मेदवारले १४-१५ सहयोगीका साथमा भोट माग्दै गरेको उजुरी मंगलबार नै पर्‍यो। निर्वाचन कार्यालयले तत्कालै त्यस विषयमा बुझेर उम्मेदवारलाई सचेत गराएको थियो।

दलहरूले निर्वाचन प्रचारका क्रममा राखेका तुल÷ब्यानर, झन्डा र पोस्टर आफैं हटाउने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन। बरु दलहरूले निर्वाचन चिह्न अंकित ब्यानर तथा तुललाई मौन अवधिमा पनि लगाउने क्रमलाई निरन्तरता दिएका छन। निर्वाचन कार्यालयले भने तुल-ब्यानर हटाउने जिम्मेवारी दलकै भए पनि सुरक्षाकर्मी र म्यादी प्रहरी परिचालन गरेको स्पष्ट गरेको छ।