खेतमा पुगेर मत माग्ने उम्मेद्वारहरु गहुँको वीऊ प्रति अनभिज्ञ

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि कपिलवस्तुमा उम्मेदवार बनेकाहरु मत माग्नै व्यस्त छन । तर कपिलवस्तुका कृषकहरु भने गँहुको बीउ, मल र डिजेल नपाउँदा चिन्तित बनेका छन । उम्मेदवारहरु मत माग्न घरदैलोको साथै खेत खलियानमा समेत पुग्ने गरेका छन । तर कपिलवस्तुको दोस्रो प्रमुख बाली गहुँ लगाउन यहाँका कृषकहरु व्यस्त छन् यतिखेर ।

डिएपी मलको लागि तौलिहवास्थित कृषि सामग्री लिमिटेडमा गँहुको बीउ, डिएपी मल र डिजेलको अभावमा अझै सम्म गहुँ छर्न नपाएको गुनासो कृषकहरुको छ । उम्मेदवारहरु मत माग्नै मस्त छन तर कृषकहरुले हरेक बर्ष झल्दै आएको यो समस्याप्रति कसैले चासो नदिएको प्रष्टै छ । बिउँ छरीसके्पनि डिएपी मल हाल्न र सिंचाई गर्न पाएका छैनन ।

नयाँ संरचना अनुसार गाँउपालिका र नगरपालिकबाट सीमित आउने सहुलियको बिउँ उपलब्ध गराउने गरिए पनि त्यो पर्याप्त छैन । कोटा छुट्टाएर सीमित बिउँ मात्र आएको छ । चालु आर्थिक बर्षको अहिले सम्म ३ सय ९१ मेट डिएपी र १ सय ५२ मेट युरिया जिल्लामा आएको छ । ४२ वटा क्लस्टरलाई जिल्ला कृषि समितिको निर्णय अनुसार कोटा ताकेर बाँडने गरिएको छ ।

जस अनुसार प्रति क्लस्टर डिएपी ५५ क्वीन्टल र युरिया ३५ क्वीन्टलको दरले बितरण गर्ने गरिएको छ । गँहु खेतीकालागि २५ सय मेट्रिक टन बढी माग छ, तर आपूर्ति निकै कम भएकाले मलको अभाव देखिएको हो । उता डिजेलको पनि त्यस्तै अभाव छ । कृषकहरु डिजेलका लागि पनि पेट्रोल पम्पमा धाउने गरेका छन । जिल्लामा ३० हजार हेक्टरमा गहँु खेती गरिन्छ ।

कृषकहरुको समस्या समाधान गर्छौ निर्वाचनको बेला सबै उम्मेदवारहरुले जोडतोडले आवाज उठाउछन । जितेर गए पछि सबै कुरा बिर्सिन्छन । नेताहरुको क्रियाकलाप देखेर किसानहरु दिक्क छन् । गाँउमा मत माग्ने नेताहरुको लर्को छ । नेताहरुको कममा पनि ५÷७ वटा गाडी गुडछ । नेताको लागि तेल हुने आफुहरुलाई भने तेल किन नहुने कृषकको प्रश्न छ ।

मत माग्न कृषकहरुको खेत खलिहानमा पुग्ने नेता र उम्मेद्वारहरु किसानहरुको समस्यामा भने त्यति संवेदनशील भएको देखिएन । उनीहरुलाई किसानहरुको समस्या सुन्न समेत फुर्सद् भएको देखिएन । आफ्ना समस्या सुन्न नचाहने उम्मेद्वारहरु आफ्नो खेतबारीमा नआइदिए हुन्थ्यो भन्ने मत पनि राख्न थालेका छन् ।