काँकडभिट्टा गोल्डकप जितेसँगै आर्मीले गर्‍यो ह्याट्रिक

झापाको काँकडभिट्टामा जारीे मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि हात पारेसँगै त्रिभुवन आर्मी क्लबले यो सिजनमा ह्याट्रिक गरेको छ। आर्मीले यसअघि वीरगंज र झापाकै सताक्षी गोल्डकपको उपाधि हात पारेको थियो। मनाङका खेलाडीले प्रहार गरेको तीन पेनाल्टी आर्मीका गोल किपर विकेस कुथुले रोकेपछि चिरपरिचित प्रतिद्वन्द्वी टोली मनाङलाई ट्राइब्रेकरमा पराजित गर्दै आर्मीले उपाधि उचालेको हो। आर्मीले उपाधि चुमेसँगै नगद आठ लाख रुपैयाँसहित पुरस्कार हात पारेको छ।

काकँडभिट्टा माविको खेल मैदानमा शुक्रबार भएको फाइनल खेल अवधिभर दुवै टिमका खेलाडीले गोलरहित खेल टुंग्याएका थिए। खेलको निर्णय सोझै ट्राइब्रेकरबाट लिइएको थियो। मनाङका कप्तान अनिल गुरुङ, कमल श्रेष्ठ र निराजन मल्लको प्रहारको बल आर्मीका गोल किपर विकेस कुथुले जाली चुम्नबाट रोके। मनाङका विमल बस्नेत र हेमन गुरुङले प्रहार गरेको बलले जाली चुम्यो। यता आर्मीका सन्तोष तामाङ, नवयुग श्रेष्ठ र विवेक बस्नेतको प्रहार गोलमा परिणत हुँदा आर्मीकै जितेन्द्र कार्की र पदम तामाङको प्रहार चुके।

ट्राइब्रेकरमा आर्मी ३–२ गोल अन्तरले विजयी भयो। उपबिजेतामा चित्त बुझाएका मनाङले नगद चार लाख रुपैयाँमा चित्त बुझाउनुपर्‍यो। यसैगरी, प्रतियोगितामा नवप्रतिभावान खेलाडी आयोजक काँकडभिट्टा टेनिङ सेन्टरका मिलन राईलाई नगद १० हजार रुपैयाँले पुरस्कृत गरियो। प्रतियोगितामा उत्कृष्ट गोल किपर आर्मीका विकेस कुथु, उत्कृष्ट प्रशिक्षक आर्मीका नवीन न्यौपाने, उत्कृष्ट डिफेन्स काँकडभिट्टाका दीपेन राई, उत्कृष्ट मिडफिल्ड मनाङका विशाल राई ‘बी’, उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खवास भए। उनीहरूलाई नगद २० हजार रुपैयाँले पुरस्कृत गरियो। सर्वोकृष्ट गोलकर्तातर्फ दुई गोल गर्ने आर्मीका दिनेश हेम्जनलाई २५ हजार रुपैयाँ र गोल्डकपकै सर्वोकृष्ट खेलाडी मनाङका गोल किपर दिनेश थापा मगरलाई ५१ हजार रुपैयाँले पुरस्कृत गरियो।