अभाव

अबि कुसमाकर (अर्जुन बिस्ट)

लेखकःअबि कुसमाकर

 हिजो म बेग्लै थिएँ र आजपनि बेग्लै छु । फरक यति हो हिजो कसैको साथमा थिए । भने आज एक्लै छु साथमा त केवल ती अभावमा बल्झिने यादहरु मात्र छन । हरेक पल -पलमा मेरो मनले आभाष गरिएको त्यो मान्छे लाग्छ आज मलाई केही उपहार छोडेर गएको छ । जुन उपहारले मलाई एकदमै निरस बनाएको छ । जसकाे नाम थियो अभाव त्यो शब्द भनम या अरु कुनै वाक्यांश निकै महँगो उपहार रहेछ । उसले भएजती चिज आफुले लिएर मलाई केवल यो शब्द मात्र नाँसो दिई वा म आफै उसको हरेक कार्यप्रती आकर्षण भएको हुँ रनभुलमा परेको छु।

छोड्नै पर्छ तिमीलार्इ भनी दबाब छोडी गएकी छे 
  जीवन भर नअघाउने अभाव छोडी गएकी छे ।
मैले भने चोखो माया जिन्दगी भर दिन्छु भनी
मायाले पेट भरिदैन जवाफ छोडी गएकी छे ।

जति प्रयास गर्दापनी मान्दैन यो मन उसलाई भुल्नलाई बरु उसको हरेक प्रतिक्रियामा सहमती जनाउन तयार हुन्छ । तर त्यो अभाव भने कहिले गएन कहिले सपनीमा त कहिले बिपनीमा लगातार आइरहन्छ । पन्छ्याउन खोज्दा केवल उसको शरीर मात्र नजरबाट बाहिरिन्छ । त्यो अभाव त मनको कुनामा बसेको छ। जसले मलाई घरी -घरी घोचिरहन्छ अनि सोच्न बाध्य हुन्छु ।  यो मेरो मन साच्चिकै उसको रिमोट कन्टोलबाट चल्दै छ ? म सानो छ्दा प्रेमबिदहरुले भनेको सुनेको थिए । प्रेम एक अनुभुति हो । जसले जिन्दगी सुन्दर बनाउछ तर आज आएर यहि भनाइ लाई पनि दोष थुपार्दैछु । कतै यो गलत भनाइ हो कि भनी गलत साबित गर्न खोज्दै छु ?

किनकि हिजो जुन प्रेम थियोे त्यो आज केवल अभावमा परिणत भैदियो । जुन बिश्वास थियो त्यो भ्रम भैदियो र त आज मेरा पाउहरुमा बिस्वास र भ्रमका तिखा काँडाहरुले बेस्सरी घोच्दै छ्न । बिश्वासका काँडाहरुले कम घोच्दै छन । भने भ्रमका काँडाहरुले धेरै घोच्दै छन।”ओरालो लागेको मृग लाई सबैले लखेट्छ् भने जस्तो”म पनि लखेटिदै छु । आज हरेक दृष्ट्रिकाेणबाट आत्मस्वाभिमानी र इमानदारीता जोगाउनलाई हर प्रयासको दौडानमा छु । सिच्ने गर्छु ती भ्रम केवल भ्रमै सिमित रहुन र बिश्वासका काँडाहरु अझै तीखो भएर घोचिरहुन र म सजिलै यो महँगो उपहार लाई बिकाउन सकु।

अभाव के हो ? तपाईंहरुले कहिल्यै महसुस गर्नु भएको छ ? कहिल्यै अभावमा बस्नु भएको छ ? यी शब्द सुन्दा सारै भाबुक हुने गर्छु म यती सम्झिनुहोस कि तपाईंलाई भोक लाग्दा खाना पाउनु भएन,प्यास लाग्दा पानी पाउनु भएन,साझ को सन्को, रातीको शीत र बिहानको शिरेटो छेक्ने बाँस छैन। सडकमै रात बिताउनुहोस,सबै कुराको महसुस गर्नुहोस र ती कुरा तपाईंसंग छैनन् । अझै पैसा,नातागोता त टाढाको कुरा हो नियाल्नुहोस ती प्रेमका कुरा बिगत र आगतलाइ तुलना गर्नुहोस् अनि अभावको सबै भन्दा उत्तम अर्थ त्यही भेटिन्छ । मैले पनि त आज ती अभाव बाट रुष्ट भै झरेका आँसु का प्रत्येक थोपाको एक -एक हेक्का निकाल्न सक्छु।

सायद मैले आफ्नो खुशी र आफुलार्इ मात्रै हेर्ने गरेको भए आज म पनि त्यो मुस्कान,सम्पन्नता को धनी भएर बसेको हुन्थेहोला बिडम्बना मैले भोगे अभाव उसले मागी सम्पन्नता रत हामी फरक यात्री भएका छौँ । उसले सुख सयल र सम्पन्नताको बाटोमा यात्रा गर्दै छे मैले अभावको साथमा हजारौं घुम्तीको बाटो यात्रा गर्दै छु। स्विकार्दैन कदापि व्यापार जिन्दगीले नत सक्यो खोज्न आहार जिन्दगीले परीक्षा लियो फरक-फरक विषयमा, न पास, न फेल दियो साकार जिन्दगीले ।

स्विकार्दैन कदापि व्यापार जिन्दगीले
नत सक्यो खोज्न आहार जिन्दगीले
परीक्षा लियो फरक फरक विषयमा,
न पास, न फेल दियो साकार जिन्दगीले ।

 भोगेको जिन्दगी र लेखेको जिन्दगीमा कति फरक हुदो रहेछ। बेला-बेला सम्झिन्छु जब त्यो अभाव मेरो जिवनमा आउँछ ,आगनमा आउँछ,हर रातमा आउँछ,अनि सधै बातमा आउँछ,आँखा बन्द गर्न खोज्दा आँखामा आउँछ ,एकान्तमा हुँदा मनमा आउँछ,जात्रामा हुँदा मान्छेहरु को भिडमा जसले सित्तैमा मलाई सबै उपहार थुपारेर गएको छ उसकै साथ मा समर्थन गर्दै आउँछ ।

भन्छ्न “मुल ढोका एकपटक मात्रै खोलिन्छ”तर त्यो ढोका खुल्न नपाउदै बन्द भैदिन्छ अनि भन्छ त संग अभाव धेरै छ । तैले अभावको महल खडा गर अनि त्यही पाउँछ्स गतिलो ढोका अनि मेरो मनमा सनसनी आगो बल्छ ज्वारभाटा सल्किए झै गरि तर पनि आफैलाइ समाल्न बिबश हुन्छु। छुटेका थियौ हामी जुन दिन सायद त्यो दिन देखि मेरो साथमा अभाव कहिल्यै टाढिएन हर पलमा म संगै यात्रा गर्दैछ।

प्रेम मा भ्रम र अबिस्वास हुन्छ भन्ने कुरा थाह थियो तर प्रेममा अभाव पनि हुदो रहेछ आज लाग्दै छ मलाई सबैभन्दा शक्तिशाली पनि यहि रहेछ । प्रेम शब्द सुन्दैमा मायाको भावनाले भरिपुर्ण भएको देखिन्छ।अटुट नाता साइनो जोड्छ जस्तो लाग्छ। प्रेम नहुनु भनेको मुटु नहुनु हो जस्तै हो जस्तो लाग्छ तर यो सब लेखाइ मा सिमित हुन्छ। भोगाइमा त प्रेमबाचा कसमहरु तोड्ने कायरले निभाएको भुमिका मात्रै रहेछ । निस्वार्थ ,बिनाआशा प्रेम गर्नेहरु लाई अभाव नै काफी हुन्छ । आजको युग नै यस्तो भैदियो कि प्रेमको बदनामी गरेर हर प्रहरमा अभाव मात्रै खेप्नु पर्छ।

कहिलेकाही रक्सी पिएर लठ्ठै परेको मान्छे देख्दा म पनि उ जस्तै लठ्ठ परि हिडौ जस्तै लाग्छ।मेरो जिवनको मोहले हैन जीवनको अस्तित्व बिर्सन यसरी नै जिन्दगी का हरेक रातहरु सित्तैमा गुमाएको छु ।कयौ रातहरुले जबर्जस्ति डसे त कतिपय रातहरुले चोटिलो जवाफ दिएर गए जसरी गएपनी आखिर ती रातहरु मेरो विरुद्धमा थिए । मैले जति नजिकै बाट नियाले पनि कहिल्यै पत्तालगाउन सकिन किनकि त्यो एकदमै गहिराइमा गैसकेको थियो ।

रत कहिले मेरो अस्तित्वमा ,कहिले कलेजोमा बसेर मलाई सताइ रह्यो आखिर कहिले सम्मको अभाव हो यो बुझ्न खोजिरहेको छु। कोशिश पनि त नगरेको हैन कि यसैको नाम (अभाव) नै जिन्दगी हो भनेर तर प्रयास प्रयासमै सिमित भयो यी अतृप्ति आँखाहरु उजाडिएको मन सधैभर उसकै अभावमा रहयो अब मेरो भन्नू एकपटक उसले पनि यो अभाव महसुस गर्ने छ ढिलो चाडो न हो ।

तेहि दिनको खबर सुन्न्रेछु बाँस गरोस त्यो अभाले अनि लेख्नसकोस कि अभाव को परिभाषा बुझ्न सकोस अभावको पीडा ।यसरी नै बतासले झारेका फुलहरु,बिरहका आँसुहरु ले माला गासेर एउटा निस्तब्ध रातको घेरामा अँध्यारो कोठामा छु र एकदमै नि:सहाय छु । यहि अन्धकार रातमा छटपटाइ रहेको छु । पानीको अभावमा तड्पिएको माछा सरि छटपटाउदै गल्ती भएकै भएपनी खुलस्त भन्नू पर्थ्यो तर यो अभाव उपहार दिएर आज म उकुस -मुकुस भएको छु ।म त केवल बिजुलिको बत्ती भएको छु बल्न मन हुदाहुदै पनि अर्कैले स्विच थिचेर धपक्कै निभाइ दिन्छ।उज्यालो दिन मन हुदाहुदै ,बलि रहन मन भएपनी अँध्यारो तिर धकेलिदिन्छ र म बाध्य हुन्छु अन्जान भएरै यी सब स्वीकार गर्दै निभ्न लाई भन्छ्न दुनियाँले प्रेममा अनौठो शक्ति छ भनेर मपनी आज यसैमा सहमत जनाउदै यो कोमल हृदयलाई आफ्नै गतिमा चल्न नदिइ त्यहि महँगो उपहार अभावको इशारामा चलिरहेको छु । 

तारकेस्वर नगरपालिका ०७ ,काठमाडौ