निर्वाचनकाे मुखैमा ३ थान हतियार सहित भारतीय नागरिक पक्राउ

मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन नजिकिदै जादा बाँकेको डुडुवा गाउँपालिका ६ बदलिपुरवाबाट सोमबार दुई थान कटुवा पेस्तोल र १ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको टोलीले भारतको बहराईच जिल्ला रुपैडिया केवलपुर गामका ५३ बर्षिय परसुराम पासीलाई हतियार सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कटुवा पेस्तोलमा प्रयोग हुने खाली खोका एक थान समेत बरामद गरिएको छ । भारतबाट नेपाल तर्फ हातहातियार ल्याउदै गरेको भन्ने सुचनाको आधारमा प्रदेश ब्यूरो नेपालगन्जबाट खटिएको प्रहरी टोलीले एक जनालाई हतियार सहित नियन्त्रणमा लिएको हो ।

पासीका साथमा रहेका बाँके डुडुवा ६ का ५० बर्षिय राजेन्दकुमार गोडिया भने भागेको प्रहरीले जनाएको छ । प्रहरीसँग चेकजाँचमा भागेका राजेन्द्र कुमार गोडियाको खोजतलाशको लागि घरमा तलासी लिने क्रममा उनको घर कोठा भित्र लोड अवस्थामा रहेको भरुवा बन्दुक एकथान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  फरार गोडियाको खोजतलाश एवम पक्राउको लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।