मतपेटिका सुरक्षामा कठ्याङ्ग्रिदो चिसो समेत बाधक

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ।

तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो चुनौती बनेको छ। जुम्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न मतदान केन्द्रबाट संकलन गरी मतपेटिका ल्याइएको छ।

ती मतपेटिका मतगणना नहुँदासम्म सुरक्षित राख्न सुरक्षाकर्मीसँगै वाम गठबन्धन र कांग्रेस प्रतिनिधि खटिएका छन्। कठ्याङ्ग्रिदो चिसोमा चौबीसै घण्टा मतपेटिकालाई पहरा दिनुपर्दा समस्या भएको वाम गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार पदमबहादुर रोकायाले बताए। उनले भने, ‘मतगणना नहुँदासम्म पहरा दिँदा बिरामी भइने पो हो कि भन्ने चिन्ता थपिएको छ।