इन्डोनेसियामा ज्वालामुखीको खतरा, एक लाख मानिसलाई अन्यत्र सर्न चेतावनी

एजेन्सी,इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि त्यहाँका एक लाख मानिसलाई अन्यत्र जान चेतावनी दिइएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो ।

प्रशासनले त्यहाँको विमानस्थल पनि बन्द गरिदिएको छ । जसका कारण कयौं यात्रु अलपत्र परेका छन् । माउन्ट आगुंगमा ३ हजार ४ सय मिटरको उचाईसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ । इन्डोनेसियाको राष्ट्रिय आपत प्रबन्ध बोर्डले माउन्ट आगुंगमा भएको ज्वालामुखीको आवाज १२ किलोमिटर परसम्म सुनिएको जनाएको छ ।

यहाँबाट सोमबार मात्रै ४० हजार मानिस अन्यत्र सरिसकेका छन् । इण्डोनेसियाको बाली एक प्रमुख पर्यटकीय स्थल हो । यद्यपि, ज्वालामुखीभन्दा यो क्षेत्र करिब ७० किलोमिटर टाढा पर्ने जनाइएको छ । ज्वालामुखीको घर मानिने इण्डोनेसियामा १३० ज्वालामुखी सक्रिय छन् । अन्तिमपटक माउन्ट आगुंग सन् १९६३ मा फुटेको थियो जसको कारण एक हजार जनाको मृत्यु भएको थियो ।