फाइदामा बिमा कम्पनीहरू, नाफा ९५ करोड

नेपाल स्टक एक्सचेन्जमा १५ निर्जीवन र सातवटा जीवन बिमा कम्पनी सूचीकृत छन्। नवीन अर्याल काठमाडौं चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्सेमा सूचीकृत बिमा कम्पनीले ९५ करोड ५८ लाख रुपैयाँ कुल नाफा कमाएका छन्। नेपाल स्टक एक्सचेन्जमा १५ निर्जीवन र सातवटा जीवन बिमा कम्पनी सूचीकृत छन्। यो अवधिमा निर्जीवन बिमा कम्पनीको नाफा ५० करोड ११ लाख रुपैयाँ छ। जीवन बिमा कम्पनीले ४५ करोड ४७ लाख रुपैयाँ कमाएका छन्।

पहिलो त्रैमासमा जीवन बिमा कम्पनीको कुल नाफा ६१ प्रतिशत बढेको छ। यो अवधिमा सबै जीवन बिमा कम्पनीले मुनाफा बढाएका छन्। तीन महिनामा १७ करोड ७४ लाख रुपैयाँ नाफा कमाउँदै नेपाल लाइफ इन्सुरेन्स पहिलो बनेको छ। कम्पनीको नाफा २०१.१९ प्रतिशतले बढेको छ। गतवर्षको यसै अवधिमा नेपाल लाइफको नाफा पाँच करोड ८९ लाख रहेको थियो। नेसनल लाइफ इन्सुरेन्सले आठ करोड २० लाख रुपैयाँ कमाएको छ। नेसनलको नाफा ६२.३८ प्रतिशत बढेको हो।

प्राइम लाइफको नाफा दुई करोड २७ लाखबाट बढेर ६ करोड ३४ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउनेमा एसियन लाइफ इन्सुरेन्स छ। एसियन लाइफको नाफा ८.९ प्रतिशतले बढेर एक करोड ५८ लाख पुगेको छ। लाइफ इन्सुरेन्स कम्पनीले तीन सय ४४ प्रतिशत नाफा बढाउँदै तीन करोड ७३ लाख पुर्‍याएको छ। यो अवधिमा जीवन बिमा कम्पनीले नाफा उल्लेख्य बढाएको वित्तीय प्रतिवेदनले देखाउँछ।

निर्जीवन बिमा कम्पनी

निर्जीवन बिमा कम्पनीतर्फ तीन महिनाको अवधिमा बढी नाफा कमाउनेमा शिखर इन्सुरेन्स पहिलो नम्बरमा छ। तीन महिनामा शिखरले नौ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। एनएलजी इन्सुरेन्सले पाँच करोड २६ लाख, राष्ट्रिय बिमा कम्पनीले चार करोड चार करोड ८० लाख र सिद्धार्थ इन्सुरेन्स कम्पनीले चार करोड १२ लाख रुपैयाँ कमाएको वित्तीय प्रतिवेदनमा उल्लेख छ। एभरेस्ट इन्सुरेन्सको नाफा सबैभन्दा कम ४५ लाख रुपैयाँ छ। युनाइटेड इन्सुरेन्स कम्पनीको नाफा एक करोड ४७ लाख रुपैयाँ छ। बाँकी निर्जीवन कम्पनीले दुई करोडभन्दा बढी नाफा कमाएका छन्।

पहिलो त्रैमासमा निर्जीवन बिमातर्फ सेयर आम्दानीका हिसाबले राष्ट्रिय बिमा कम्पनी अग्रस्थानमा छ। राष्ट्रिय बिमाको प्रतिसेयर आम्दानी ७२.०३ रुपैयाँ रहेको छ। शिखर इन्सुरेन्सको प्रतिसेयर आम्दानी ४६.७४ रुपैयाँ छ। एनएलजी इन्सुरेन्स कम्पनीको ४१.०६ रुपैयाँ प्रतिसेयर आम्दानी पुगेको छ। यस्तै नेपाल इन्सुरेन्स कम्पनीको ३५.१० रुपैयाँ, सिद्धार्थ इन्सुरेन्सको ३०.८३ रुपैयाँ, नेको इन्सुरेन्सको २०.२९ रुपैयाँ, लुम्बिनी जनरल इन्सुरेन्सको १५.८४ रुपैयाँ प्रतिसेयर आम्दानी छ।

यसैगरी, एनबी इन्सुरेन्सको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ छ। युनाइटेड इन्सुरेन्सको १९.४७ रुपैयाँ, सगरमाथा इन्सुरेन्सको २४.३० रुपैयाँ, प्रुडेन्सियल इन्सुरेन्स १९.६७ रुपैयाँ, प्रभु इन्सुरेन्स १३.८४ रुपैयाँ, प्रिमियर इन्सुरेन्स १८.९५ रुपैयाँ, हिमालयन जनरल इन्सुरेन्स ८.६९ रुपैयाँ र एभरेस्ट इन्सुरेन्सको १४.७७ रुपैयाँ छ।

पहिलो त्रैमासिक प्रतिवेदनअनुसार सेयर मूल्यका आधारमा राष्ट्रिय बिमा कम्पनी पहिलो नम्बरमा छ। राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य १६ हजार ६ सय छ। एभरेस्ट इन्सुरेन्सको सेयर मूल्य दुई हजार चार सय ९९, प्रिमियर इन्सुरेन्सको एक हजार चार सय ५६, सिद्धार्थको ११ सय, एनएलजीको १५ सय पाँच, शिखर इन्सुरेन्सको १७ सय ५०, नेपाल इन्सुरेन्सको १४ सय ५० रुपैयाँ छ। नेको इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, प्रभु इन्सुरेन्स, हिमालय जनरल इन्स्योरेन्स्को सेयर मूल्य हजारभन्दा कम छ। आजको अन्नपूर्णपोष्टमा यो खबर छापिएको छ ।