म्याग्दीका बैंक तथा वित्तिय संस्थाहरुमै नक्कली नोटको विगविगि

म्याग्दीमा नक्कली नोटको कारोबारमा बृद्धि भएको भेटिएको छ । एक साता यता बैंक तथा वित्तिय संस्था तथा कारोबार हुने स्थानहरुमा नक्कली नोटको विगविगि बढेको हो । सदरमुकाम बेनीस्थित वित्तिय संस्थाहरु र बजारमा समेत नक्कली नोट भेटिन थालेपछि गिरोह सक्रिय बनेको निष्कर्ष निकालिएको छ । बेनीमा ठुलो मात्रामा नक्कली नोट भित्रिएको अनुमान गरिएको छ ।

विगतमा जस्तै दशैंतिहार आसपासको समयमा देखिएको नक्कलीनोट जुवाको खाल, हाटबजार, मजदुरलाई ज्याला दिँदा, गाउँघरमा खसी–बोका खरिद, लागुऔषधको कारोबारी लगायतका कारण नक्कली नोट भित्रिएको हुन सक्ने अनुमान गरिएको छ । दिदीबहिनी सहकारी, लोकदिप सहकारी, कस्तुरी सहकारी लगायत बैंकमा समेत नक्कली नोट पुगेपछि नोट चेकजाँचमा समेत कडाई गरिएको छ ।

नेपालको अर्थतन्त्रलाई अस्तब्यस्त र अपराधिक गिरोहको सक्रियता बढ्ने भएकाले पनि नोटका बारेमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । ५ सय र १ हजारको दुईवटा नक्कली नोट धेरै मात्रामा भेटिने गरेको पाइएको छ । नक्कली नोटमा नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँसको पानीछाप अस्पष्ट देखिन्छ । त्यस्तै नोटमा प्रयोग गरिएको सुरक्षाको धाको समेत समेत नक्कली नोटमा देखिदैन् । सक्कली नोटको कागजस्तरीय, अली खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुने प्रहरीले जनाएको छ ।