बाबु चुनावी अभियानमा, छोरो खारेजी अभियानमा !

शान्ति प्रक्रियाको केही वर्षमै विभाजनको शिकार भएको माओवादी हाल दुई फरक फरक स्वरुमा विभाजित भएको छ । यस्तो विभाजनको सोझो असर काठमाडौं ६ का माओवादी उम्मेवार झक्कु सुवेदीमाथि पनि परेको छ । प्रतिनिधिसभाका लागि काठमाडौं ६ का उम्मदेवार झक्कु संविधान कार्यान्वयनका लागि वाम गठबन्धनका तर्फबाट भोट मागिरहेका छन् । उता उनका छोरा सन्तोष सुवेदी भने मतादताहरुलाई तर्साउँदै अपहरण, विस्फोट र ढुंगामुढामा सक्रिय छन् । र, अहिले पक्राउ परेका छन् ।

प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिएसँगै माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी काठमाडौं ६ मा भोट माग्न मतदातको घरदैलोमा पुगेका छन् । कांग्रेस नेता भीमसेन प्रधानसँग प्रतिस्पर्धामा उत्रिएका झक्कु सुवेदीले आफ्नो डेरा समेत निर्वाचन क्षेत्र नं. ६ मै सारिसकेका छन् । पहिलो संविधानसभा चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं २ बाट पराजित गरेर चर्चामा आएका सुवेदी यसपटक काठमाडौं ६ बाट एमालेलाई नै साथ लिएर मतदातासँग भोट मागिरहेका छन् ।

तर, प्रयास भनेर चिनिने उनका छोरा सन्तोष सुवेदी भने यतिवेला रोल्पामा प्रहरी हिरासतमा छन् । चुनाव विरोधी गतिविधि गरेको आरोपमा रोल्पा प्रहरी सन्तोषलाई गिरफ्तार गरी हिरासतमा राखेको छ । बाबु काठमाडौंमा चुनाव लडिरहेका बेला प्रयासले रोल्पामा चुनाव प्रतिरोधका लागि भन्दै चुनाव बिरोधी क्रियाकलापमा सक्रिय भएका थिए ।

चुनाव प्रभाव पार्ने गरी गतिविधि सञ्चालन भएपछि विप्लव नेतृत्वको नेकपाको रोल्पा सेक्रेटरी समेत रहेका प्रयासलाई प्रहरीले यही कात्तिक २२ गते पक्राउ गरेको हो । केही समय अगाडि रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती वियोगको अपहरणमा समेत जागृति र प्रयासको संलग्नता रहेको प्रहरीको दावी छ ।

प्रयाससँगै नेकपा रोल्पाका जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृतिलाई समेत प्रहरीले चुनाव प्रभावित पार्नसक्ने भन्दै नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेको छ । चुनाव नजिकिएसँगै थवाङ पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावको प्रतिरोध गर्न निर्देशन दिएपछि उनीहरु सोही अनुसार परिचालित भएका थिए ।

चुनाव बहिष्कार गर्न भन्दै प्रतिरोध अभियानमा संलग्न भएका प्रयास सेना समायोजन हुनुपूर्व तत्कालीन जनसेना प्रमुख ननन्दबहादुर पुन (पासाङ) को सचिवालयमा कार्यरत थिए । अंग्रेजी भाषामा दख्खल भएका प्रयास पासाङको सचिवालयमा दोभाषेको काम समेत गर्थे ।

हुन त राजनीतिमा बाबुछोराको नाता जोड्नु राम्रो मानिँदैन । अघिल्लो साता रविन्द्र मिश्रका सम्बन्धमा यस्तै विषयमा बोल्दाखेरि काठमाडौं १ मा उम्मेदवार प्रकाशमान सिंहले आलोचना खेप्नुपरेको थियो । तर, झक्कु सुवेदीले काठमाडौंमा भोट मागिरहेका बेला आफ्नै छोरो बहिस्कार अभियानमा सक्रिय भइदिँदा झक्कुलाई पक्कै पनि आफ्नो चुनावी अभियान सहज बनेको छैन ।